• ७ असोज २०८३, बुधबार
  • ४ः४८ बिहान

सत्ता पक्ष र प्रतिपक्षको किचलोले नागरिकमा निराशा

प्रकाशित मिति

२०७७ श्रावण २९ गते, बिहीबार ०८:५५

 

National Life

काठमाडौं । विश्वभर फैलिइरहेको कोरोना भाइरसको संक्रमणले नेपाल प्रभावित बनिरहेको छ । कोराना नियन्त्रण रोकथाम र नियन्त्रणका लागि लाग्नुपर्ने सरकार आफ्नै दल नेकपाको कारण अप्ठ्यारोमा परेको छ । कोरोनासँगै शुरु भएको सत्तारुढ दल नेकपाको विवाद अहिले उत्कर्षमा पुगेपछि संवादहीनताको अवस्था छ ।

विगत डेढ महिनादेखि जारी विवाद समाधान गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटक–पटक भएको वार्ता विफल भएपछि अहिले संवाद नै टुटेको छ । पार्टीभित्रको आन्तरिक विवादमा बढी समय खर्च हुँदा सरकारको कामसमेत प्रभावकारी बन्न सकेको छैन । पछिल्लो समयमा प्रधानमन्त्रीले सरकारको काममा लगाउनुपर्ने समय आन्तरिक विवादमा लगाउनुभएको छ । कोरोना नियन्त्रण र रोकथामका लागि हुनुपर्ने छलफल र भेटघाट आफू निकटका नेताहरुसँग हुने गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

शीर्ष तहमा संवाद हुन नसकेपछि संसदीय दलमा आफ्नो बहुमत पुर्याउने रणनीतिमा प्रधानमन्त्री ओली लाग्नुभएको छ । पार्टीभित्रको सम्भावित संकट टरिनसकेकाले आफ्नो पक्षमा निर्णय गराउन प्रधानमन्त्री ओली रातदिन नेताहरुसँगको भेटघाटमा व्यस्त हुने गर्नुभएको छ । झन्डै दुई तिहाइ बहुमत प्राप्त सरकारको नेतृत्व गरिरहनुभएका अध्यक्ष ओली पछिल्लो समयमा सरकारकै रक्षाका लागि लाग्नुभएको छ ।

पार्टीभित्र अध्यक्ष र प्रधानमन्त्री दुई पदमध्ये एक पद छोड्न दबाब बढिरहेका बेला दुवै पद जोगाएर अगाडि बढ्ने रणनीतिमा प्रधानमन्त्रीको बढी समय बितिरहेको छ । स्थायी समिति बैठक बस्नुअघि सचिवालय बैठकमा सहमति कायम गरेर मात्र बैठक बोलाउने तयारीमा लाग्नुभएका अध्यक्ष ओलीले एक सातादेखि अर्का अध्यक्ष प्रचण्डसँगसमेत संवाद गर्नुभएको छैन ।

कोरोनाको कारण देशको अर्थतन्त्र तहसनहस हुने अवस्था सिर्जना भएको छ । देशभित्र चार महिना लकडाउन गरेर अहिले खुला गरिएको छ । एक जनामा कोरोना संक्रमण देखिँदा सरकारले लकडाउन सुरु गरेको थियो । तर अहिले दैनिक तीनदेखि पाँच सय जनासम्ममा संक्रमण फैलिँदासमेत सरकारले लकडाउन नगर्ने नीति लिएको छ । नेपालमा कोरोना संक्रमण समुदायस्तरमा पैmलिन शुरु गरिसक्दा समेत सरकारले प्रभावकारी कदम चाल्न सकिरहकेको छैन । कोरोनाविरुद्ध लड्नुपर्ने सरकार आफ्नै पार्टीभित्रको आन्तरिक विवादमा रुमलिएको छ ।

नेकपाका नेता ठाकुर गैरेले पार्टीभित्रको विवाद समाधानका लागि शीर्ष नेतृत्व गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले नेपाल समाचारपसँग भन्नुभयो– ‘हरेक पार्टीभित्र विवाद हुन्छ, विवादको समाधान गर्ने कमिटीका बैठक नै हुन्, अहिले जारी स्थायी समिति बैठक स्थगित छ, शीर्ष नेताहरुमा संवाद हुन सकिरहेको छैन, जनताले ठूलो आशा र अपेक्षा गरेर नेकपालाई बहुमत दिएका हुन्, जनमतको सम्मान गरेर पार्टी अगाडि बढ्नुपर्छ ।’ यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रतिकृया