• ८ असोज २०८३, बिहीबार
  • ५ः४४ बेलुका

बाढी पहिरो प्रभावितको उद्धारका लागि १ हजार सैनिक परिचालित

प्रकाशित मिति

२०७७ श्रावण ७ गते, बुधबार ०५:२७

काठमाडौं । केही दिन देखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट बढी प्रभावित मुलुकका १६ जिल्लामा एक हजार नेपाली सेनाले आवश्यक उपकरणसहित तत्काल खोजी र उद्धार कार्यमा जुटिरहेको जानकारी दिएको छ ।

National Life

उक्त जनशक्ति पहिरोमा हराएका व्यक्तिको खोजी, डुबानमा परेका नागरिकको उद्धार, राजमार्गको पहिरो पन्छाउन तथा नदिले कटाउन क्षेत्रका बस्ती संरक्षणका लागि तटबन्ध निर्माणमा संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

सेनाले बाढी, पहिरो र डुबानमा परेका व्यक्तिको तत्काल उद्धारका लागि पोखरा, बर्दिवास, इटहरी, चितवन, भरतपुर, गजुरी र रौतहटलगायत स्थानबाट तालीम प्राप्त दक्ष जनशक्तिसहित रबर बोर्ट र उपकरण परिचालन गर्ने प्रबन्ध मिलाएको छ । त्यसका लागि चार सयको सङ्ख्यामा तालीम प्राप्त जनशक्तिको व्यवस्था गरिएको जानकारी दिइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अविरल वर्षाका कारण आकस्मिक रुपमा हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सेनाले पूर्वतयारीको सिलसिलामा भरतपुर, सुर्खेत र इटहरीमा हेलिकोप्टर सहितको आवश्यक जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिएको छ ।

मुलुकभर केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण पहाडी जिल्लामा बाढीपहिरो तथा मध्य तराईका जिल्लामा डुबानको समस्या देखिएको छ । बाढीपहिरोबाट ठूलो सङ्ख्यामा जनधनको क्षति भएको छ । निरन्तरको वर्षाका कारण मुलुकका नदी तथा खोलामा पानीको बहाव उच्च रहेको छ ।

बाढीपहिरो र डुबान प्रभावित परिवारको राहत र उद्धारका लागि तीन तहकै सरकार र सङ्घसंस्थाबाट विभिन्न सहयोग भइरहेको छ । मुलुकका विभिन्न भागमा गएको पहिरो र नदी कटानले मुख्य राजमार्गसमेत अवरुद्ध भएकामा सडक डिभिजन कार्यालय र सुरक्षाफौजनको प्रयासमा सञ्चालनको प्रयास भइरहेको छ ।

प्रतिकृया