नागरिकताको प्रावधानबारे भारत असन्तुष्ट
प्रकाशित मिति
२०७७ असार १२ गते, शुक्रबार ११:०५
काठमाडौं । नेपाली पुरुषसँग विवाह गर्ने विदेशीलाई सात वर्षपछि नागरिकता दिने प्रावधानप्रति भारतले घुमाउरो ढंगले आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस विषयमा विभिन्न रिपोर्ट देखेको बताएका छन् ।
‘नेपाल र भारतका जनताबीच एकदम गहिरो र पारिवारिक सम्बन्ध छ’, मन्त्रालयमा बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उनले भने, ‘यो सम्बन्धले दुई देशबीच रहेको नजिकको सभ्यतागत र सांस्कृतिक सम्पर्क प्रतिविम्बित गर्छ ।’
भारतीय अधिकारीले प्रत्यक्ष विरोध नगरे पनि कूटनीतिज्ञ र मिडियाले नागरिकता प्रावधानको विरोध गरिरहेका छन् । यसले दुई देशबीच रहेको रोटीबेटी र बिहावारीको सम्बन्धलाई असर गर्ने प्रतिक्रिया व्यक्त गरिरहेका छन् । नेपालमा कांग्रेस र मधेसकेन्द्रित दलले उक्त प्रावधानको विरोध गरिरहेका छन् ।
नेपालले लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाली सामान निर्यातमा भारतको पश्चिम बंगाल राज्य सरकारले रोक लगाएका खबर सार्वजनिक भइरहेका छन् । तर, भारतीय विदेश मन्त्रालयले भने यसलाई अस्वीकार गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखिएको छ ।
प्रतिकृया