रुसका प्रधानमन्त्री मिशुस्तिनलाई कोरोना संक्रमण भएको पुष्टि
प्रकाशित मिति
२०७७ बैशाख १९ गते, शुक्रबार ०७:१९
एजेन्सी । रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
रुसमा संक्रमितको संख्या एक लाख भन्दा बढी पुगेकै दिन बिहीबार उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रुसमा बिहीबार एकै दिन सात हजार ९९ जना संक्रमण पुष्टि भएको हो, त्यसमध्ये एक प्रधानमन्त्री मिखाइल पनि हुन् ।
गएको जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न आएका मिखाइल रुसमा कोरोना भाइरसको महामारी नियन्त्रण अभियानको नेतृत्वमा रहेर काम गर्दै आएका छन् । रुसी टेलिभिजनमा उनले आफूलाई संक्रमण भएको जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बताउँदै गरेको देखाइएको छ ।
प्रधानमन्त्री मिखाइलले भिडियो कलमा राष्ट्रपति पुटिनलाई भनेका छन्, ‘मैले भर्खरै थाहा पाएँ कि मलाई कोरोना भाइरसको संक्रमण भएको रहेछ ।’उनी अस्पतालमा रहँदा प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एन्ड्री बेलोउसोभले सम्हाल्ने तय भएको छ ।





प्रतिकृया