लकडाउनमा महिला र बालबालिकामाथि यौन हिंसा बढ्दै
प्रकाशित मिति
२०७७ बैशाख १८ गते, बिहीबार ०७:४२
काठमाडौं । आफ्नै १४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा मध्यपुर ठिमीस्थित बोंडेबाट २३ वर्षीय युवक सोमबार पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भई हाल बाँडेस्थित जस्ताको टहरामा बस्दैआएका ती युवकले राति बहिनी सुतेको मौका छोपी करणी गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार अभियुक्तलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

त्यस्तै धादिङबाट ना. ६ ख ५६१५ नम्बरको ट्रकमा काठमाडौँ आउँदै गरेकी २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ट्रकका सहचालक कृष्ण सतारलाई प्रहरीले थानकोटबाट पक्राउ गरेको छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सञ्चालन गरेको ‘लकडाउन’ का कारण सडकमा अलपत्र परेकी ती युवतीलाई उद्धार गरी काठमाडौँ पर्याइदिने भन्दै करणी गरेको पीडितले बताएकी छिन् ।

त्यसअघि बर्दियाकी चार वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १५ वर्षीय किशोर पक्राउ परेका थिए । नाता पर्ने बालिकालाई फकाई फुल्याई करणी गरेको आरोप पीडितको छ । नेपाल प्रहरीका अनुसार बन्दाबन्दीमा भएका यी तीन वटा करणी अपराधका घटना केही उदाहरण मात्र हुन् । बन्दाबन्दी सुरु भएको ३५ दिन अवधिमा करिब ५८ वटा करणीका अपराध भएका छन् ।
यस अवधिमा अप्राकृतिक मैथुन दुई, जबर्जस्ती करणी उद्योग १५ र बाल यौन दुराचारका १० घटना भएका छन् । वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीका अनुसार करणी सम्बन्धी अपराध मानवीय स्वभावसँंग जोडिएकाले अन्य अपराध भए पनि यौनजन्य अपराध र लागूऔषध कारोबार तथा ओसारपसारका अपराध नियन्त्रण भएका छैनन् ।गोरखापत्रबाट साहाभार




प्रतिकृया