• २० भदौ २०८३, शनिबार
  • ३ः०१ दिउँसो

जलवीरे पुल निर्माण जारी

प्रकाशित मिति

२०७७ बैशाख ७ गते, आईतवार ११:२९

काठमाडौं । बन्दाबन्दीको प्रभावले प्रायः योजना बन्द रहे पनि मुग्लिन–नारायणगढ सडकमा पर्ने जलवीरे पुल भने निर्माण जारी छ । वर्षाअघि नै निर्माण कार्य सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थितिले पुल निर्माण जारी राखिएको मुग्लिन–नारायणगढ सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले बताएका छन् ।

National Life

सुरक्षाका उपाय अवलम्बन गर्दै सरकारले तोकेको मापदण्ड पूरा गरेर निर्माणको काम जारी राखेका छौँ, उनले बताएका छन् । हाल पुल निर्माणका लागि ३० जना मजदुर कार्यरत रहे पनि उनीहरूलाई सिफ्ट लगाएर काम गरिएकाले २५ जनाभन्दा कम नै मजदुरले एक सिफ्टमा काम गरेको उनले जनाएका छन् । मजदुरलाई नियमित हात धुन लगाउने र स्यानिटाइजरको प्रयोग गर्दै काममा लगाइएको बताइन्छ । मुग्लिन–नारायणगढ सडकको पुनर्निर्माण सकिएसँगै चारवटा पुलको निर्माण थालिएको थियो । जसमध्ये दासढुङ्गा, खानी र मौरी पुलको निर्माण सकिए पनि जलवीरे पुलको भने अहिलेसम्म ६१ प्रतिशत मात्रै काम सकिएको आयोजनाले जनाएको छ । १३ करोड ९५ लाख रुपियाँ लागत रहेको जलवीरे पुल ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको निर्माण हुँदैछ ।

वर्षाअघि नै आधारभूत काम सकिएन भने अहिलेसम्म बनेका संरचना पनि खोलाले बगाएर लैजाने छ, इन्जिनियर खनालले भने, “अहिले बनिसकेका संरचनाको सुरक्षाका लागि पनि अहिलेको अवस्थामा जोखिम नै मोलेर निर्माण कार्य जारी राख्नुपर्ने अवस्था छ । ” डिसेम्बर २०१७ बाट निर्माण थालिएको यो पुल सम्झौता भएको २१ महिनामा निर्माण सकिनुपर्नेमा निर्माणका क्रममा पटकपटक डिजाइन परिवर्तन गर्नुपर्दा ढिलाइ भएको बताइन्छ । पुल निर्माण गर्ने स्थान अप्ठ्यारो ठाउँ भएकाले पनि काम गर्दै डिजाइन परिवर्तन गर्दै गर्नुपरेको हो ।
कतिपय निर्माणका अत्यावश्यक समान भैरहवा भन्सारमा आएर बसेको र बन्दाबन्दीले ल्याउन नसकिएको इन्जिनियर खनालले बताएका छन् । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने राष्ट्रिय स्तरका र गौरवका आयोजनाका लागि निर्माण सामग्री ढुवानीमा कुनै समस्या नभएको बताएका छन् । गोरखापत्रबाट साहाभार

Classic Tech Desktop

प्रतिकृया