बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइसियूमा
प्रकाशित मिति
२०७६ चैत्र २५ गते, मंगलवार ०२:१४
एजेन्सी, कोरोना भाइरस सङ्क्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्ष आइसियूमा राखेर उपचार शुरु गरिएको छ । ११ दिन अघि भाइरस पोजेटिभ देखिनुभएका ५५ बर्षिय प्रधानमन्त्री जोनसनको स्वास्थ्य बिग्रदै गएपछि आइतवार राती लण्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । तर कोरोनाको सङ्क्रमण र त्यसको असर बढ्दै गएपछि प्रधानमन्त्रीलाई आइसियूमा राखेर थप उपचार शुरु गरिएको उहाँको कार्यालयले जनाएको छ ।
उहाँका स्वास्थ्य सल्लाहकारले चिकित्सकहरुको परामर्शमा विशेष उपचार शुरु गरिएको जानकारी दिएका छन् ।उहाँलाई अक्सिजन दिनु परेको तर भेन्टिलेटरमा भने नराखिएको बताइएको छ । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा “सोमवारको उपचार पछि पनि प्रभानमन्त्री जोनसनको स्वास्थ्यअवस्था थप जटिल बन्दै गयो र उहाँलाई चिकित्सकहरुको परामर्शमा सघन उपचार कक्षमा सारियो”, भनिएको छ ।
अस्पतालमा भर्ना भएपछि टुइट गर्दै प्रधानमन्त्री जोनसनले आफू अस्पतालमा भएपनि सरकारले अघि सारेका कोरोना भाइरस नियन्त्रणको प्रयास आफ्नो टोलीले निरन्तर अघि बढाउनेमा विश्वस्त रहन आग्रह गर्नुभएको थियो ।कोरोना सङ्क्रमण भएर बेलायतमा हिजो एकै दिन ४३९ जनाको मृत्यु भयो । त्यहाँ अहिलेसम्म ५ हजार ३७३ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयले साढे ५१ हजार बढीमा सङ्क्रमण पुष्टि भइसकेको बताएको छ ।






प्रतिकृया