• २२ भदौ २०८३, सोमबार
  • १०ः१२ राती

कोभिड–१९: एक हप्ताभित्र सातवटै प्रदेशमा नमुना परीक्षण हुने

प्रकाशित मिति

२०७६ चैत्र १८ गते, मंगलवार ०१:००

काठमाण्डौं, सरकारले अबको एक हप्ताभित्र सबै प्रदेशबाट कोरोनाभाइरसको परीक्षण सुरु गरिने जनाएको छ। चीनबाट शनिवार ल्याइएका सामग्रीमा प्रयोगशालाको सामग्री पनि रहेको र ती सबै प्रदेशमा जडान गरेर परीक्षण सुरु गरिने बताइएको छ। प्रयोगशालाका सामानसँगै स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा सामग्री, सर्जिकल मास्कजस्ता सामान पनि सबै प्रदेशमा सोमवारसम्ममा पठाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको भनाइ छ।

National Life

नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन अन्य प्रयास भए पनि कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको पर्याप्त नमुना परीक्षण भने हुन नसकेको गुनासो सबैतिर छ। देशमा कोरोनाभाइरसको पहिलो सङ्क्रमित व्यक्ति देखिएपछि राजधानी काठमाण्डूमा सुरु गरिएको कोरोनाभाइरस सङ्क्रमणको परीक्षणलाई तीन दिनअघि मात्रै धरानमा विस्तार गरिएको हो।

अहिले अस्पतालहरूले बिरामीको नमुना सङ्कलन गरेर काठमाण्डू पठाउने गरेकोमा अब उक्त सेवा एक साताभित्र सबै प्रदेशबाट सुरु गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। त्यस्ता परीक्षण प्रयोगशालाहरू प्रदेश नम्बर २ को जनकपुरमा, प्रदेश नम्बर ५ को बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा अनि सुदूरपश्चिम प्रदेशको धनगढीमा हुनेछन्। त्यस्तै पोखरा, नेपालगन्ज, दाङ र हेटौँडामा पनि थप प्रयोगशाला स्थापना गरिने बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अन्य सामग्री पनि प्रदेश पठाइने

प्रयोगशालामा चाहिने परीक्षणका सामग्रीका अतिरिक्त स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा परिधान र मास्कजस्ता चीनबाट आएका सबै सामान सोमवारसम्म सबै प्रदेशमा पठाइने प्रवक्ता देवकोटाले बताए। नेपालले चीनको एक कम्पनीबाट किनेको एक करोड तीन लाख अमेरिकी डलर बराबरको सामग्रीमध्ये केही समान मात्रै आएको र बाँकी सामान यो साताभित्र ल्याइने बताइएको छ।

हाल आइपुगेका सामग्रीमा नेपाल सरकारले किनेका सामानका अतिरिक्त चीनको सिचुवान प्रान्त सरकार, सिचुवान इन्भेस्टमेन्ट ग्रूप, चीनको प्रख्यात प्रविधि कम्पनी अलिबाबा फाउन्डेशन र ज्याकमा फाउन्डेशनले नेपाललाई सहयोगका रूपमा पठाएका सामान हुन्।

प्रतिकृया