• २३ भदौ २०८३, मंगलबार
  • १ः५१ राती

सफल मिर्गौला प्रत्यारोपणपछि बालुवाटारमा ओलीको राजनीतिक भेटवार्ता सुरु

प्रकाशित मिति

२०७६ चैत्र १ गते, शनिबार ०८:४१

काठमाडौं । १२ दिन लामो अस्पताल बसाइपछि शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले शनिबारदेखि राजनीतिक भेटवार्ता सुरु गरेका छन्।

National Life

सरकारी निवास बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री केपी ओलीले राजनीतिक भेटवार्ता सुरु गरेका हुन्। शनिबार बिहानैबाट सुरु भएको भेटवार्तामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत नेतासँग भेटवार्ता गरेका हुन्।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका ओलीले अन्य नेता तथा सल्लाहकारसँग संयुक्त भेट गरेका हुन्। शनिबार बिहान प्रधानमन्त्री निवास वालुवाटार पुगेर पहिले प्रचण्ड र त्यसपछि नेपालले प्रधानमन्त्रीसँग भेट गरेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

दुवै नेताले भेटमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए। प्रचण्डको निजी सचिवालयका अनुसार, दाहालले मिर्गौला पुनः प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्रीलाई बधाई दिँदै स्वास्थ्यलाभको कामना गरेका थिए। नेता नेपालले समेत ओलीको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका छन्।

दाहाल र नेपाल दुवै नेताले प्रधानमन्त्रीलाई समसामायिक राजनीतिक गतिविधिका बारेमा पनि जानकारी गराएका छन्। प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भई शुक्रबार डिस्चार्ज भएर बालुवाटार फर्किएका हुन्।

शिक्षण अस्पतालमा २१ फागुनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई भाञ्जी नाताकी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्। उनको भने फागुन २८ गते डिस्चार्ज भएको थियो।

प्रतिकृया