सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई
प्रकाशित मिति
२०७६ फाल्गुन १२ गते, सोमबार ०६:५३
काठमाडौं । अर्थमन्त्रीसमेत रहेका डाक्टर युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।
७० कुरोडको कमिसनको अडियो प्रकरणपछि सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि रिक्त रहेको यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डा. खतिवडालाई तोकेकी हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले संचार मन्त्रालयबारे केही न केही जानकारी बजेट निर्माणका क्रममा हुने गरेको बताए । प्रधानमन्त्री र राष्ट्रपतिले आफूलाई गहन जिम्मेवारी दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ । संविधानले सुनिश्चितता गरेको प्रेस स्वतन्त्रलाई सम्मान गर्ने भन्दै उनले प्रेस स्वतन्त्र र निर्भिक हुनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गरे । राज्यको पुनर्संरचना गर्ने समय भएका कारण सरकार गठन भएको दुई वर्ष अघिल्लो दुई वर्षहरुभन्दा फरक रहेको भन्दै यस समयमा धेरै काम भएको डा. खतिवडाले बताएका छन् ।
दुई वर्षको अवधि राज्य प्रणालीको परिवर्तनका लागि लामो समय नभएको उनको भनाइ छ । यसबीचमा भएका कामलाई सजिलै सम्पन्न नभएको उनले उल्लेख गरे । अब पाएको अवसर गरिबी अन्त्य, समावेशी विकास गर्दै मुलुक समृद्ध बनाउनेतर्फ सरकारको ध्यान जाने अर्थमन्त्री खतिवडाले बताए ।
सूसचित हुन पाउने नागरिकको अधिकार निश्चित गर्न आफू सक्रिय हुने अर्थमन्त्री खतिवडाले प्रतिवद्धता व्यक्त गरे । सूचना प्रविधिको माध्यमबाट शासकीय प्रवन्धलाई पारदर्शी बनाइने र सञ्चार माध्यमलाई व्यवस्थित गरिने मन्त्री खतिवडाको भनाई छ ।
प्रतिकृया