• २० भदौ २०८३, शनिबार
  • १०ः५१ राती

कोरोना भाइरस: क्वारन्टीन भनेको के हो ? यि चार स्थानमा बन्ने भए क्वारन्टीन

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार ०१:३४

एजेन्सी, चीनमा कोरोनाभाइरसको सङ्क्रमण प्रकोपका रूपमा फैलिएपछि सञ्चारमाध्यममा ‘क्वारन्टीन’ शब्द व्यापक रूपमा प्रयोग भएको देखिन्छ। यो शब्द सरुवा रोग नियन्त्रणसँग सम्बन्धित छ। इन्साइक्लपिडिया ब्रिटानिकाका अनुसार क्वारन्टीन भन्नाले कुनै सरुवा रोगको जोखिममा रहेका मानिस वा पशुलाई हिँडडुल गर्नबाट रोक्ने वा उनीहरूलाई अलग्ग सुरक्षित स्थानमा राख्ने भन्ने बुझाउँछ।

National Life

सरुवा रोगको सङ्क्रमण वा त्यो फैलाउने जोखिमबाट मुक्त नभएसम्म उनीहरूलाई क्वारन्टीनमा अर्थात् अलग्गै राखिन्छ। अझ विस्तारमा भन्नु पर्दा स्वस्थ मानिस वा समूहलाई कुनै पनि स्थलबाट हिँडडुल गर्नबाट रोक लगाई सम्भावित सङ्क्रमणबाट उनीहरूलाई जोगाउन वा उनीहरूबाट सर्वसाधारणलाई हुन सक्ने खतरा रोक्न निश्चित समयका लागि सुरक्षित स्थानमा राखेर निगरानी गर्ने कार्यलाई क्वारन्टीन भनिन्छ।

कसरी गरिन्छ क्वारन्टीन व्यवस्थापन ?

Classic Tech Desktop

अहिले चीनको हुबे प्रान्तबाट १८० नेपालीलाई स्वदेश फिर्ता ल्याइने तयारी हुँदैछ। यहाँ ल्याइएपछि उनीहरू सबैलाई क्वारन्टीनमा राखिनेछ। त्यसका लागि राजधानी उपत्यकामा चार स्थानको टुङ्गो भइसकेको अधिकारीहरूको भनाइ।

क्वारन्टीन व्यवस्थित बनाउनका लागि स्वास्थ्यकर्मीको सुविधासहित सुरक्षित स्थानमा राख्ने र अन्य व्यक्तिहरूसँग सम्पर्क हुन नदिने व्यवस्था मिलाउनु आवश्यक हुन्छ। उक्त अवधिमा सङ्क्रमित क्षेत्रबाट उद्धार गरिने व्यक्तिहरूलाई नियमित अनुगमन गरेर रोगका लक्षण भए नभएको निधो गरिन्छ। कोरोनाभाइरसको हकमा कम्तीमा दुई सातासम्म क्वारन्टीन गर्ने अर्थात् निगरानीमा राख्नुपर्ने हुन्छ।

उक्त अवधिमा क्वारन्टीनमा राखिएका मानिसहरूको नाक, घाँटी तथा श्वासप्रश्वाससम्बन्धी अङ्गको भित्री भागबाट समेत विभिन्न नमुना निकालेर परीक्षण गरिन्छ। उक्त अवधिमा उनीहरूको उपचारमा सक्रिय हुने चिकित्सक, नर्स तथा अन्य विज्ञ वा निगरानीमा रहने सुरक्षाकर्मी, खाना तथा ढुवानी लगायतको बन्दोबस्ती गर्ने व्यक्तिहरूले विशेष सावधानी अपनाउने गर्छन्।

क्वारन्टीन स्थल कहाँ छन् ?

कोरोनाभाइरसबाट अतिप्रभावित चीनको हुबे प्रान्तमा नेपालीहरू उद्धारको पर्खाइमा छन्। सरुवा रोग फैलिएको स्थानबाट आउने भएकाले निश्चित अवधिका लागि उनीहरूलाई चिकित्सकीय निगरानीमा चार स्थानमा अलग्गै राखिनेछ।

उनीहरूलाई निम्न स्थानमा राखिनेछ :

1- शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र

2- इचङ्गुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको आवासीय भवन

3- सूर्यविनायकस्थित कृषि तालिम केन्द्र

4 – खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र

बिहीवार स्वास्थ्य, गृह, रक्षा र परराष्ट्र मन्त्रीसहित विभिन्न सरोकारवाला मन्त्रालयका अधिकारीहरूसँगको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ती स्थानमा चीनबाट फर्किने व्यक्तिहरूलाई राख्न निर्देशन दिएका हुन्। भक्तपुरमा क्वारन्टीनमा राख्ने योजनाको केही स्थानीयवासीले विरोध गरेका छन्।

तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोरोनाभाइरसको सङ्क्रमणबारे पर्याप्त जानकारी नहुनाले अनावश्यक भय फैलाइएको र त्यसैका कारण विरोध समेत भएको टिप्पणी गरेका छन्। वुहानबाट नेपाल फर्किन इच्छुक सबै नेपालीहरू पूर्ण सुरक्षित वा स्वस्थ रहेको उनको भनाइ छ। बीबीबाट साभार

प्रतिकृया