४ जिल्लाका सीडीओ र कारागार व्यवस्थापन विभागका निर्देशक फेरिए
प्रकाशित मिति
२०७६ पुष २८ गते, सोमबार १०:१७
काठमाडौँ – गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रजिअसँगै कारागार व्यवस्थापन विभागका निर्देशक र प्रमुख अध्यागमन अधिकृतको सरुवा गरेको हो ।
आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै सरुवा गरेको हो । गृह मन्त्रालयका अनुसार, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभागमा तानेर उहाँको स्थानमा सहसचिव वासुदेव घिमिरेलाई पठाइएको छ ।

गृहमा कार्यरत उपसचिव रमा आचार्यले सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीमा मौका पाएकी छन् । आचार्यलाई सोलुखुम्बुको प्रजिअ बनाएर पठाइँदा त्यहाँ कार्यरत वेदनिधि खनाललाई भने सहायक प्रजिअ बनाएर रूपन्देही सरुवा गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत दीर्घनारायण पौडेललाई गृहले कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीको भूमिका दिएको छ । जिल्ला प्रशासन कार्यालय, रौतहटको कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका किरण थापालाई भने त्यहाँबाट सरुवा गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय तानिएको गृह मन्त्रालयले जनाएको छ ।




प्रतिकृया