• २१ जेठ २०८३, बिहीबार
  • ९:२४ बेलुका

श्रममन्त्री यादव: वैदेशिक रोजगार व्यवसायीहरु पनि इमानदार हुनुपर्छ

प्रकाशित मिति

२०७६ पुष १८ गते, शुक्रबार ०८:५४

काठमाडौं , श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीमा जाने कामदारहरुको सुरक्षा र देशमा आउने रेमिट्यान्सको सुनिश्चितताका लागि मन्त्रालय गहन गृहकार्यमा रहेको जानकारी दिएका छन् । वैदेशिक रोजगार पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बुधबार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै मन्त्री यादवले उक्त धारणा व्यक्त गरेका हुन् ।नेपाल कृषि प्रधान मुलुक भएपनि श्रम गर्न सक्ने जनशक्ति विदेश निर्यात गरेर उपभोग्य वस्तु आयात गर्नुपर्ने अमिल्दो अवस्था उत्पन्न भएको भन्दै मन्त्री यादवले सरकार यो अवस्थालाई परिवर्तन गर्ने योजनामा रहेको र केही दिनभित्रै तीन महिने कार्ययोजना सार्वजनिक गर्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिएका छन् ।

आफू शुरु देखि नै शोषण मुक्त वैदेशिक रोजगारीका पक्षमा रहेको बताउँदै उहाले विगतका कमी कमजोरी सच्याउँदै आफू वैदेशिक रोजगार क्षेत्रलाई सहजरुपमा अघि बढाउन क्रियाशिल रहेकोले सञ्चार क्षेत्रले सक्रिय रुपमा साथ दिनुपर्ने भनाइ राखेका छन्।गरिबी र विपन्न अवस्थामा रहेका कामदारहरुलाई अनुचित तरीकाले विदेश पठाउने कार्य रोक्नुपर्ने भन्दै मन्त्री यादवले आमा बुबा र नवजात शिशुलाई घरमै छोडेर विदेशमा श्रम बेच्न जाने कामदारको हितलाई सबै पक्षले ध्यानमा राख्नुपर्ने बताएका छन् ।

Kamana Sewa

मन्त्री यादवले भने, ‘वैदेशिक रोजगारीमा जाने कामदारको त्यागको उच्च सम्मान गर्नुपर्छ, उसलाई कुनैपनि प्रकारले कानूनी दाउपेचामा पार्नु भएन । घरमा बुबा, आमा र नवजात शिशुलाई छोडेर परिवार पाल्नकै लागि वैदेशिक रोजगारीमा जानेको जीवन रक्षा कसरी हुन्छ र नेपाल आउने रेमिट्यान्सको सहज आप्रवाह कसरी हुन्छ भन्ने विषयमा मन्त्रालय गहन चिन्तनमा रहेको छ, यस विषयमा सञ्चार क्षेत्रसँग सहकार्य गर्न हामी तयार छौं ।’

Classic Tech Desktop

समृद्ध नेपाल सुखी नेपाली भन्ने वर्तमान सरकारको लक्ष्य रहेको र उक्त लक्ष्य प्राप्तिका लागि आफुले सञ्चार क्षेत्रको रचनात्मक सुझाव र आलोचनालाई सधै स्वागत गर्ने बताए । उनले भने, ‘सञ्चार क्षेत्र मन्त्रालयको आँखा र कान हो, हाम्रो कमी कमजोर रहेका छन् भने खुलेर औंल्याइदिनु होला, मन्त्रालयले अन्यथा लिने छैन ।’उहाले अगाडि भने, ‘यस विषयमा वैदेशिक रोजगार व्यवसायीहरु पनि इमानदार हुनुपर्छ । हामी कसैका केही प्रतिस्पर्धी छैनौं । मन्त्रालय र व्यवसायी प्रतिस्पर्धी होइनन् । प्रेमपूर्ण तरीकाले समन्वय र सद्भावका माध्यमबाट अघि बढौं । नीतिगत समस्या समाधानमा मन्त्रालय उहाँहरुप्रति उदार छ ।’

सो अवसरमा मन्त्रालयका सचिव विनोद केसीले मन्त्रालय वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याहरुलाई पहिचान गरेर त्यसलाई दीर्घकालीन समाधानको पक्षमा रहेको जानकारी दिए । सचिव केसीले मन्त्रालय शुसासन युक्त वैदेशिक रोजगारको पक्षमा रहेको र सुधारका लागि निकट भविश्यमा बृहत अन्तरक्रिया गर्ने योजनामा रहेको बताए ।समाजका अध्यक्ष हरिबहादुर थापाले मन्त्रालय र वैदेशिक रोजगार बोर्डले करोडौं रुपैयाँ लगानी गरेर दिन नसक्ने सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारको सूचना सञ्चारकर्मीहरुले निःशुल्क रुपमा जनस्तरमा पुर्‍याइरहेको भन्दै मन्त्रालयले सञ्चारकर्मीहरुसँग सहकार्य गरेमा सूचना प्रवाह प्रभावकारी हुने धारणा राखे ।

त्यस अवसरमा समाजका सल्लाहकार सहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । गत पौष १२ गते काठमाडौंमा सम्पन्न समाजको साधारणसभाले पत्रकार थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको थियो ।

प्रतिकृया