लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितका सबै भूभाग नेपालकै हो ,भारतको एकपक्षीय निर्णय मान्दैनौँ :प्रम ओली
प्रकाशित मिति
२०७६ पुष ३ गते, बिहीबार ०८:५६
काठमाडौँ, प्रधानमन्त्री केपी ओलीले नेपाल–भारत सीमाको विषय तथ्य, प्रमाण र सहमतिका आधारमा तय हुनुपर्ने बताउन भएको छ। उहाले भारतबाट एकपक्षीय रूपमा गरिने निर्णय नेपाल सरकारलाई मान्य नहुने जबाफ सर्वोच्च अदालतलाई दिनु भएको हो ।सीमा सुरक्षाका विषयमा दायर रिटमा सर्वोच्चलाई जबाफ पठाउँदै प्रधानमन्त्री ओलीले भारतबाट नोभेम्बर २ मा नेपाली भूभाग अतिक्रमण गरेर प्रकाशित राजनीतिक नक्सामा सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको छ।
ओलीले सन् १८१६ को सुगौली सन्धिबमोजिम काली महाकाली नदीको पूर्वका लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितका सबै भूभाग नेपालकै रहेको जिकिर लिएका छन् । ‘नेपालको पश्चिमतर्फको सिमाना मूलतः सन् १८१६ को सुगौली सन्धिबमोजिमको निर्धारित सिमाना हो । उक्त सन्धिको धारा ५ बमोजिम काली महाकाली नदीको पूर्वका लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका सबै भूभाग नेपालका हुन्,’ प्रधानमन्त्रीले भनेका छन् ।
सुगौली सन्धिको धारा ५ मा यी भूभाग नेपालकै रहेकाले सीमाका विषयमा सरकार सजग रहेको प्रधानमन्त्रीको भनाइ छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी तथा नवलपरासीको सुस्ता भारतबाट अतिक्रमण भएको र फिर्ता लिन सरकारले चासो नदिएको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट दिएका थिए ।
‘नेपाल र भारतबीच सीमासम्बन्धी विषय तथ्य र प्रमाणका आधारमा दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय सरकारलाई मान्य नहुने स्पष्ट धारणा छ,’ प्रधानमन्त्री ओलीद्वारा मंसिर २९ गतेको मितिमा पठाइएको जबाफमा छ अन्नपूर्ण पोस्ट दैनिक बाट साभार।





प्रतिकृया