अष्ट्रेलिया र स्विट्जरल्याण्डका राजदुतहरु र मन्त्री गुरुङबीच भेटवार्ता
प्रकाशित मिति
२०७६ मंसिर ३० गते, सोमबार ०४:२८
काठमाडौं, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बड र स्विजरल्याण्डका राजदुत एलिजाबेथ भोन क्याप्लेरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित् मन्त्री गुरुङको कार्यकक्षमा भएको संयुक्त शिष्टाचार भेटवार्तामा नेपाल तथा अष्ट्रलिया र स्विजरल्याण्डका द्धीपक्षीय हितका विविध विषयमा छलफल भएको मन्त्री सचिवालयले जनाएको छ । त्यस अवसरमा मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुनेगरी मित्र राष्ट्रहरुसँग मिलेर काम गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
उहाँले महिलाको आर्थिक सशक्तिकरण एवम् बालबालिका, ज्येष्ठ नागरिक एवम् अपांगता भएका व्यक्तिहरुको क्षेत्रमा प्रदेश र स्थानीय तहमा सहकार्य गरेर काम गर्न आवश्यक वातावरण बनाउने पनि राजदुतद्धय बड र क्याप्लेरलाई जानकारी गराउनुभएको थियो । मन्त्री गुरुङले अष्ट्रेलिया र स्विजरल्याण्डले नेपालको पूर्वाधार विकास, सामूदायिक वन र सामूदायिक विकास एवम् लघु उद्यमशिलता विकास जस्ता क्षेत्रमा लामो सहकार्यका साथ काम गरेको चर्चा गर्दै दुवै मुलुकले नेपालको दीगो विकास र महिलाको सशक्तिकरणको क्षेत्रमा पु¥याएको योगदानप्रति आभार व्यक्त गर्नुभयो ।
उता राजदुतद्धय बड र क्याप्लेरले पनि मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको उत्थानका लागि नेपालसँगै सहकार्यका साथ काम गर्न आफ्नो मुलुक तत्पर रहेको बताउनुभयो । भेटमा राजदुतद्धयले समाज कल्याण परिषदको भावी योजना तथा नीतिगत एवम् कानुनी पुनरावलोकनका विषयमा मन्त्री गुरुङसँग चासो व्यक्त गर्नु भएको थियो । मन्त्री गुरुङले समाज कल्याण परिषदलाई नेपालको बदलिँदो परिवेशअनुसार अझ प्रभावकारी बनाउने गरी कानुनी, नीतिगत एवम् संस्थागत पुनरावलोकनका विषय छलफलको क्रममा रहेको बताउनुभयो ।






प्रतिकृया