• २३ भदौ २०८३, मंगलबार
  • १ः४१ राती

नेपाललाई ठूलो भरोसा देखाएर चिनियाँ राष्ट्रपति सी स्वदेश प्रस्थान

प्रकाशित मिति

२०७६ आश्विन २६ गते, आईतवार ०३:५०

काठमाडौं , नेपाली जनताले देखाएको न्यानो आतिथ्यताबाट प्रसन्न बन्नुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल र नेपाली जनताप्रति आभार व्यक्त गरेर आज स्वदेश फर्कनु भएको छ ।

National Life

दुई दिने नेपाल भ्रमण टुंग्याएर बेइजिङ फर्कनुअघि राष्ट्रपति सीको नेपाल बसाइ निकै व्यस्त रह्यो । उहाँले सम्बोधन गर्नुभएका हरेक अवसरमा नेपाली जनताले देखाएको आत्मीय व्यवहार र भावनाको खुलेर प्रशंसा गर्नुभएको थियो ।

उहाँले यो व्यवहार र भावना नेपाल र चीनबीचको मित्रताको थप कडी बन्ने विश्वास समेत व्यक्त गर्नु भएको छ । नेपाली जनताको सहजताका लागि चीनसंग जोडिएका धेरै भन्दा धेरै नाकाहरु खोल्ने उद्घोष गर्नु भएका राष्ट्रपति सीको स्वागतमा वास्तवमा समग्र मुलुक एक ढिक्का बनेर उभिनु स्वयं नेपालका लागि नै सुखद संकेत बनेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रपति सीको भ्रमणको दौरानमा बिभिन्न १७ सम्झौतामा हस्ताक्षर भएको छ । कुनै पनि चिनियाँ राष्ट्रपतिको उपस्थितिमा भएका सम्झौताहरु लागू हुने र पूर्ण गरिनु पर्ने चिनियाँ नीति र प्रावधान नै छ । यही कारण पनि राष्ट्रपति सीको उपस्थितिमा भएको सम्झौताले नेपालको विकासमा अहम भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

अपरान्ह करिब सवा २ बजे उहाँ स्वदेशका लागि विमानतर्फ जानुभयो । सीको विदाईमा सडकको दुबै किनारमा ठूलो संख्यामा नेपाली जनताको उपस्थिति रहेको थियो । बिभिन्न समुदायको झाँकीसहित ठूलो संख्यामा नेपाली नरनारीहरु होटल सोल्टीमोड कालिमाटीदेखि त्रिपुरेश्वर , माइतीघर मण्डला, नयाँ वानेश्वर , तीनकुने हुँदै विमानस्थल अघिसम्म पंक्तिबद्ध बनेर उभिएका थिए ।

उहाँलाइ बिदाइ सलामी पनि दिइएको छ । बिदाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमनत्री केपी शर्मा ओली विमानस्थलसम्मै जानुभएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, शर्मा ओली लगायत संवैधानिक अंगका प्रमुखहरु , मन्त्रिपरिषद्का सदस्यहरु, नेपाली सेनाका विशिष्ट अधिकारीहरुले राष्ट्रपति सीको बिदाई गर्नुभएको थियो ।

नेपाल बसाइको क्रममा देश विकासका लागि बिभिन्न ‘उपाय’हरु पनि सुझाएर जानु भएका राष्ट्रपति सीले सुशासन र जनताप्रतिको दायित्वलाई उच्च महत्व दिन नेपालका नेताहरुलाई सुझाव दिनु भएको छ ।

स्थायीत्व र समृद्धिको यात्रामा रहेको नेपालका लागि वास्तवमा चिनियाँ राष्ट्रपति सीको भ्रमण कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।

प्रतिकृया