• २२ भदौ २०८३, सोमबार
  • ५ः१४ बेलुका

सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोज्योः कांग्रेस नेता पौडेल

प्रकाशित मिति

२०७६ आश्विन १२ गते, आईतवार ११:०४

भक्तपुर, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउनुभएकोे छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं .१ ले भक्तपुरको दुवाकोटमा आयोजना गरेको प्रजातन्त्र सेनानी स्व.जानकी प्रसाद कुईंकेल को स्मृति दिवस तथा चियापान कार्यक्रममा बोल्दै उहाँले उहाँले कांग्रेसलाई लोकतन्त्र माथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गर्नुभयो ।

National Life

दुईतिहाईको आडमा सरकार निरंकुश बन्दै गएको बताउँदै नेता पौडेलले पार्टीलाई ब्यक्तिवादी,चाटुकारी र भक्तिवादी प्रबत्तिबाट माथि उठाएर एक ढिक्का बनाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी भक्तपुर लगायत देशका बिभिन्न उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सबै पार्टी तथा कार्यकर्ता एक ढिक्का भएर जिताउन लाग्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारको गतिविधि संघियता विरोधी भएको र सरकारले काम गर्ने ठोस योजना पनि प्रस्तुत गर्न नसकेको दाबी गर्नुभयो ।शान्ति सुव्यवस्था कायम हुनुको बदला मुलुकमा हत्या, हिँसा, बलात्कार, भ्रष्टाचारका घटना बृद्धि भएको उहाँको भनाई थियो ।

नेता पौडेलले वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा आन्तरिक कलहमा नफसी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो । चुनावको बेलामा देशलाई आर्थिक समृद्ध दिने घोषणा गरेको कम्युनिष्ट सरकारले अहिले जनतालाई करको भार थोपार्नु बाहेक अन्य कुनै महत्वपुर्ण काम गर्न नसकेको आरोप लगाउनुभयो ।

Classic Tech Desktop

जहिले कांग्रेस कमजोर भयो तहिले लोकतन्त्र कमजोर भएको बताउँदै उहाँले पार्टीलाई बलियो बनाउन विधान सम्मत जानुपर्ने उल्लेख गर्नुभयो । कांग्रेसले महँगी,भ्रष्टाचार,महिला हिंसा,बलात्कार,हत्या,अलोकतान्त्रिक बिधेयक,कम्युनिष्ट सरकारको कुशासन र स्थानीय सरकारले बढाएका अत्याधिक कर र शुल्कका बिरुद्ध देशब्यापी बिरोध गरेको उहाँको भनाई छ ।

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले पार्टीलाई एक ढिक्का पार्न र जनसमुदायमा घुलमिल गराउन जो दिनुपर्ने बताउनुभयो । कार्यक्रममा कांग्रेस नेता कन्चनचन्द्र बादे,लोकेश ढकाल, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा , तरुण दलका पुर्व अध्यक्ष बिनोद कायस्थ, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं ,क्षेत्र नं.१ का सभापति जीवन खत्री,सचिब उद्धब खड्का लगायतले स्व.कुईंकेलले पार्टी र देशमा दिएको योगदानको चर्चा गर्दै कांग्रेस गुट उपगुट नभनी एकजुट भएर अघि बढे कसैले पराजित गर्न नसक्नेमा जोड दिनुभयो ।

प्रतिकृया