मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : काम बढी गर्नुहोस, प्रतिवेदन चुस्त राख्नुहोस्
प्रकाशित मिति
२०७६ आश्विन १० गते, शुक्रबार ११:२४
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिनु भएको छ । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र प्रगतिलाई आगामी समीक्षामा नयाँ सोचका साथ बढी स्पष्ट र मूर्त बनाएर प्रस्तुत गर्न पनि निर्देशन दिनु भएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो,“अगाडि नबढेका आयोजना के कारण अगाडि नबढेको हो भन्ने देखिनुपर्छ । यस दुई महीनामा नभएका काम छन् भने आगामी दुई महीनामा दोब्बररुपमा काम गर्नुपर्छ । त्यसो हुन नसकेकामा वार्षिक लक्ष्य पूरा हुन नसक्ने स्थिति हुन्छ । यसमा साथीहरुको ध्यान जाओस् । काम बढी गर्न र प्रतिवेदन चुस्त, दुरुस्त राख्नुहोस् ।”
प्रधानमन्त्री ओलीले महत्वपूर्ण र ठूला काम हुन नसकेमा सानासाना काम सम्पन्न हुनाको अर्थ हुँदैन भन्दै विकासमा योगदान दिन, आर्थिक उन्नति र समाजमा परिवर्तनको सकारात्मक परिणाम र असर पार्न सक्ने गरी महत्वपूर्ण कार्यक्रममा केन्द्रित हुन आग्रह गर्नुभयो ।
बैठकमा एक मन्त्रालयका फाइल अर्को मन्त्रालयमा रोकिएर पनि प्रगति हुन नसकेको कुरा उठेपछि प्रधानमन्त्री ओलीले त्यसो नगर्न आग्रह गर्दै फाइन बढी अल्झिने मानिएका मन्त्रालयलाई ढिलाइ नगर्न र अर्को मन्त्रालयको प्रगतिमा सघाउन आग्रह गर्नुभयो । उहाँले सही समयमा सही काम गर्न र मन्त्रिपरिषद्बाट फिर्ता हुने खालका प्रस्ताव नल्याउन पनि ध्यानाकर्षण गर्नुभयो। उहाँले भन्नुभयो, “हामी चल्ते चलाते ढङ्गले होइन, नवीनता र सहजताका साथ अगाडि जान चाहन्छौँ । जटिलता होइन । सहजता खोज्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले भन्नुभयो विकास किन भएन, किन ढिलो हुन्छ भन्ने कारण खोज्नुपर्छ भन्दै खरीद ऐन वा अरु कारणहरु के छन्, एउटै ठेकेदारले क्षमताभन्दा बढी ठेक्का किन लिन्छ भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने उल्लेख गर्नुभयो ।
राजनीतिक प्रभावमा केही ठेकेदारलाई काखी च्यापेर, उनीहरुले जे गरे पनि आँखा चिम्लिएर जाने प्रवृत्ति रोकिनुपर्ने र देशलाई ध्यानमा राखेर स्वच्छता, पारदर्शिता र समुचित ढङ्गले विकासलाई अगाडि बढाएर जनतामा सन्तुष्टि दिन आग्रह गर्नुभयो।








प्रतिकृया