डेङ्गु रोकथाम तथा नियन्त्रणमा हामी कति जिम्मेवार ?
प्रकाशित मिति
२०७६ भाद्र २६ गते, बिहीबार ०२:४७
विष्णु मुसिख्वाल
काठमाडौँ, नेपालमा अहिले डेङ्गु रोग महामारीकै रुपमा फैलिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष ५६ जिल्लाका ३ हजार ८ सय ९९ जनामा डेङ्गुको संक्रमण फैलिएको र ६ जनाको मृत्यु भईसकेको छ। सुनसरीको धरानबाट सुरु भएको डेङ्गु रोग पछिल्लो समय काठ्माडौँलगायत देशभर प्रकोपको रुपमा देखा परेको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीको संख्या दिनप्रतिदिन बढिरहेको छ। डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामी मध्ये १ हजार ३ सय ५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ। अस्पतालका निर्देशक चिकित्सक वासुदेव पाण्डेका अनुसार अस्पतालमा डेङ्गु बिरामी भर्ना गर्ने शय्या अभाव रहेको भए पनि अस्पतालले छुट्टै ‘फिवर क्लिनिक’ समेत सञ्चालनमा ल्याएको तथा क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु गरेको छ।

डेङ्गुको परिचय
डेङ्गु एडिज नामको पोथी लामखुट्टेको टोकाइबाट हुने संक्रमण हो। विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ। DEN 1, DEN 2, DEN 3 र DEN 4 गरि डेङ्गु भाइरस चार प्रकारका हुने गर्दछन्। एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन्। सो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ। यी लामखुट्टेहरुले मुख्यतस् पानी संकलन गर्ने कन्टेनर, फालिएका टायर, गमला, कुलो तथा पानी भरिएका खाल्डाहरुमा सफा र स्थिर पानीमा अण्डा पार्ने गर्दछ।
करिब ३ सय वर्ष अगाडिदेखि डेङ्गु उष्ण प्रदेशीय देशहरुमा जटिल समस्याका रुपमा देखा पर्दै आइरहेको छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क हेर्ने हो भने डेङ्गु संक्रमण संख्या र संक्रमित देशको संख्या उच्च रुपमा वृद्धि हुँदै गइरहेको छ। नेपालमा सन् २००४ मा पहिलोपटक एक जना जापानी स्वयंसेवकमा डेङ्गु संक्रमण देखिए यता नेपालमा डेङ्गुले आतङ्क मच्चाईरहेको छ। सन् २०१० मा भने डेङ्गु संक्रमणले नेपाललाई त्रसित नै बनायो, जुन बेला करिब ९ सय १७ जनालाई संक्रमण भएकोमा ५ जनाको त मृत्यु नै भएको थियो। त्यस्तै गरि सन् २०१२ मा १८३ मध्य झापामा मात्रै ७७ जना डेङ्गुबाट संक्रमित भएका थिए। सन् २०१९ मा हालसम्म ५६ जिल्लाका ३ हजार ८ सय ९९ जनामा डेङ्गुको संक्रमण फैलिएको र ६ जनाको मृत्यु भईसक्दा समेत डेङ्गु नियन्त्रण गर्न सकिएको छैन।
डेङ्गु रोकथाममा हामी कति जिम्मेवार छौँ ?
अङ्ग्रेजीमा एउटा भनाई नै छ “Prevention is better than cure”, अर्थात “रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बेश”। कुनै पनि रोग लाग्न नदिनका लागि रोकथामका उपायहरु अपनाउनु आवश्यक छ। डेङ्गुको संक्रमणबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नु पर्दछ। आफू रोगबाट जोगिन र अरुलाई पनि रोग लाग्नबाट बचाउन सर्वप्रथम रोकथामका उपाय आफैँबाट सुरुवात गर्नुपर्दछ। नेपालमा अहिले डेङ्गु रोग महामारीकै रुपमा फैलिरहेको अवस्थामा यसको रोकथामका लागि हामी आफैँ कति सचेत र सजग छौँ त रु
विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा संचार माध्यमहरुमा डेङ्गु रोकथामका उपायहरुसहित दिनदिनै समाचार आइरहेका छन्। यसका बाबजुद पनि अझैँ धेरै नेपालीहरु डेङ्गु रोगका बारेमा अनभिज्ञ नै रहेका छन्। यो रोग कसरी लाग्छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने ज्ञान नहुने धेरै छन्। विशेष गरि आर्थिक अवस्था कमजोर भएका ज्याला मजदुरी गरि जीविकोपार्जन गर्ने वर्गहरु यसबारे अनभिज्ञ नै रहेका छन्। त्यसैले समुदाय स्वयं सक्रिय रुपमा परिचालित भई डेङ्गु रोगका बारेमा जनचेतनामूलक कार्यक्रम संचालन गर्न आवश्यक छ।
डेङ्गु रोगका बारेमा ज्ञान हुनेहरु यसको रोकथामका लागि कति सजग छन् त रु डेङ्गु रोगका बारेमा संचार माध्यम तथा जनचेतनामूलक कार्यक्रममार्फत जति नै प्रचार प्रसार गरिए पनि यो रोग त्यतिबेलासम्म नियन्त्रण हुँदैन जबसम्म यसको रोकथामका उपायहरु व्यवहारमा लागू गरिदैन। काठमाडौँमा अझै फोहोर जथाभावी फाल्ने क्रम रोकिएको छैन। जताततै पानी जमेका खाड्लहरु देख्न सकिन्छ। मानिसहरुको भीडमा हेर्ने हो भने अधिकांश मानिसहरु पूरा बाहुला नभएका र पूरा शरीर नढाक्ने कपडा लगाएका देख्न सक्छौ। अझै अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउनेहरु नै बढि मात्रामा पूरा शरीर नढाक्ने कपडा लगाई आएका देखिन्छन्। यसरी हिडडुल गर्दा लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने मानिसहरु नगन्य मात्रामा मात्रै रहेका छन्। हामी स्वयं डेङ्गु रोगलाई स्वागत गरिरहेका छौँ। त्यसैले सर्वप्रथम रोकथामका उपायहरु आफैँबाट सुरुवात गर्नुका साथै व्यवहारमा लागू गर्नु पनि आवश्यक छ।




प्रतिकृया