आज गौरा पर्वको दोस्रो दिन
प्रकाशित मिति
२०७६ भाद्र ४ गते, बुधबार ०७:४२
बैतडी, सुदूर पश्चिमेलीहरुको मुख्य चाड गौरा सुरु भएसँगै गाउँघरमा रौनकता छाएको छ। बैतडीसहित सुदूरपश्चिममा मनाइने गौरापर्वको दोस्रो दिन आज व्रतालु महिलाहरुले ‘बिरुडा’लाई धुने गर्दछन्। अघिल्लो दिन भिजाइएका बिरुडालाई नजिकका नदी, तलाउ, धारामा लगेर धुने चलन छ। व्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गर्ने पण्डित दयाकृष्ण पन्तले बताउनु भयो । धान, साउँ, तील, अपामार्गलगायतका बोटहरुबाट गौराको प्रतिमूर्ति बनाई श्रृंगारपटार गरेर गौराको पूजा गर्ने चलन रहेको पण्डित जयानन्द भट्टले बताउनु भयो ।
नजिकको धारा, कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तिलाई विभिन्न फागसहित बिरुडाले पूजा गर्ने प्रचलन छ। आज नदी, तलाउ तथा धारमा मनाइने गौरालाई ‘नानी गौरा’ भनिन्छ। गौराको तेस्रो दिन अमुक्ताभरण र मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली हो। पौराणिककालमा हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउनका लागि गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाइने गरिन्छ।





प्रतिकृया