एनसेल र धुलिखेल हस्पिटलबीच सम्झौतापत्रमा हस्ताक्षर
प्रकाशित मिति
२०७६ श्रावण २८ गते, मंगलवार १०:१२
काठमाडौं। टेलिमेडिसिन र हेल्थ इन्फर्मे्टिक्स कार्यक्रम सञ्चालन गर्नका लागि एनसेल प्राइभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल हस्पिटल–काठमाडौं युनिभर्सिटी हस्पिटलसँग सम्झौता गरेको छ । एनसेलका प्रमुखकार्यकारी अधिकृत एन्डी चोङ र धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले सोमबार एक कार्यक्रममाझ टेलिमेडिसिन र हेल्थकेयर इन्फर्मे्टिक्स कार्यक्रम सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट बञ्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सो सम्झौता गरिएको एनसेलका प्रमुखकार्यकारी अधिकृत एन्डी चोङले बताए । यस पहल अन्तर्गत एनसेलले टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी धुलिखेल हस्पिटललाई हस्तान्तरण गर्नेछ । यसका साथै दुई वर्षका लागि यो कार्यक्रमको सञ्चालन गर्न आवश्यक पर्ने अन्य स्थानीय आपूर्ति र सेवा खरिदका लागि एनसेलले धुलिखेल हस्पिटललाई आर्थिक सहायता प्रदान गर्नेछ । हस्पिटलले कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न आवधिक ट्रेनिङ र अनुगमनलगायतका काम गर्ने सम्झौतामा उल्लेख छ ।





प्रतिकृया