• ४ साउन २०८३, सोमबार
  • ८:१८ बेलुका

अवैध लागूऔषध सहित ११ जना पक्राउ

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार १२:५३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ स्थित पूर्वपश्चिम राजमार्गबाट अवैध लागूऔषध गाँजा ३७ किलो सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा बहेरीया सुनबर्सा बस्ने ३२ वर्षीय साहा महोमद अन्सारी, भारत बिहार बैसाली फत्तेपुर बस्ने २४ वर्षीय मनिष कुमार यादव र सोही ठाउँ बस्ने ४५ वर्षीय अन्नुदेवी पासवान रहेका छन् । बिआर ०१ सिएन ६९८६ नम्बरको भारतीय नम्बर प्लेटको कार जाँच गर्ने क्रममा ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले कारको डिक्कीभित्र फल्सबटम बनाई लुकाईछिपाई ल्याएको उक्त लागूऔषध गाँजा सहित फेला पारी चालक महोमद तथा कारमा सवार मनिष र अन्नुदेवीलाई पक्राउ गरेको हो ।
रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका-४ बाट जुम्ला हाडसिजा गाउँपालिका-४ बस्ने २९ वर्षीय चक्र बहादुर शाही र मुगु कार्मारुङ छिरिङ गाउँपालिका-१ बस्ने ३६ वर्षीय लंक बुढालाई प्लाष्टिकले बेरेको २ वटा पोकाभित्र रहेको अवैध लागूऔषध अफिम जस्तो देखिने करिब ३ सय ग्राम कालो पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोतामकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा डोल्पाबाट यार्सागुम्बा टिपेर पश्चिम रुकुमतर्फ जाँदै गरेका उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको
हो ।
ललितपुर बालकुमारी च्यासलस्थित खुल्ला चौरबाट कोटेश्वर बस्ने मकवानपुर घर भएका २४ वर्षीय रविन कुमार तिमिल्सिनालाई बिहीबार बिहान अवैध लागूऔषध चरेश २५ ग्राम, नाईट्रोभेट ४५ एम्पुल र मोबाइल ७ थान सहित महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
कास्की, पोखरा महानगरपालिका-६ खहरे चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ किलो र चरेश जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम सहित ५ जनालाई बिहीबार बिहान वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पक्राउ गरेको     छ । पक्राउ पर्नहरुमा स्विस नागरिक २३ वर्षीय गोर्गी व्यारु, स्पेनिश नागरिक २२ वर्षीय जुबेदा एमोन्ड्रेन, रसियन नागरिकहरु ४० वर्षीय कोपनकोब कोरिकोर र ३० वर्षीय एन्टेम नेजिक्स र पोखरा महानगरपालिका-२३ पामे बस्ने २२ वर्षीय किशोर केसी रहेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया