राष्ट्रिय जागरण अभियानले कांग्रेसलाई बलियो र एकताबद्ध बनाएको छ : प्रवक्ता शर्मा
प्रकाशित मिति
२०७६ जेष्ठ ३० गते, बिहीबार ०३:५२
काठमाडौं । नेपाली कांग्रेसले एकमहिने राष्ट्रिय जागरण अभियानपछि पार्टी प्रति आकर्षण र सरकारप्रति विकर्षण देखिएको निष्कर्ष निकालेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जागरण अभियानबारे समीक्षा गर्न बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले अभियानले जनताको आँखा खोल्दै कांग्रेसलाई बलियो र एकताबद्ध बनाएको बताउनुभयो ।
उहाँले कम्युनिस्ट सरकारको गलत रबैया जनतामाझ र्पुयाएर अभियानले उनीहरुलाई सचेत बनाएको पनि बताउनुभयो ।
प्रवक्ता शर्माले पार्टी्भित्र गुट र उपगुट नभइ विचार र सिद्धान्तको प्रतिस्पर्धा हुने भन्दै कमजोरी सच्याउँदै सुझावलाई पार्टीले आत्मसाथ गर्दै जाने प्रस्ट पार्दै जागरण अभियानपछि कांग्रेस नयाँ ढंगले जनताका मुद्दामा केन्द्रित भएर अगाडि बढ्ने पनि बताउनुभयो ।
शर्माले जागरण अभियानकाक्रममा जिल्ला, क्षेत्र, गाउँ, नगर र वडास्तरमा गरी दुई हजार कार्यक्रम सम्पन्न भएको र ३१ हजार ६४२ जना नेकपालगायत विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेको जानकारी दिनुभयो ।
दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीका भ्रातृसंगठनहरु गठन विस्तार गरिने उहाँले उल्लेख गर्नुभयो ।
जागरण अभियानबारे असार दोस्रो सातासम्म प्रतिवेदन आउने र तेस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बसेर दोस्रो चरणको कार्यक्रम तय गरिने कांग्रेसले जनाएको छ ।






प्रतिकृया