चाँगुनारायणमा स्थानीय पाठ्यक्रम
प्रकाशित मिति
२०७६ जेष्ठ २० गते, सोमबार ०९:५९
चाँगुनारायण नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरी ‘स्थानीय पाठ्यक्रम’ निर्माण कार्य शुरु गरेको हो । यसै शैक्षिक सत्रबाट सुरु गर्नेगरि पाठ्यक्रम निर्माणको तयारी अन्तिम चरणमा पुगेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ लागू भएदेखि नगरपालिकाले शिक्षामा पाएको जिम्मेवारीको उपयोग गर्दै स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरी ‘स्थानीय पाठ्यक्रम’ निर्माण कार्य शुरु गरेको हो ।
उक्त कार्यदलले तयार गरेको पाठ्यक्रममाथि नगरपालिकाले गत शुक्रबार र शनिबार छलफल कार्यक्रमको आयोजना ग¥यो । पाठ्यक्रम निर्माण सम्बन्धि मापदण्डका आधारमा १० बटा बिषयक्षेत्र समेटेर स्थानीय पाठ्यक्रम निर्माण भएको पाठ्यक्रम विकास केन्द्रका अधिकृत पुरुषोत्तम घिमिरेले जानकारी दिनुभयो । घिमिरेले नगरपालिकाको बिषयक्षेत्र छनोट लगायत नितिगत तयारीमा प्राविधिक सहजिकरण गर्नुभएको थियो ।
कार्यदलले पाठ्यक्रमविज्ञ, शिक्षक, अभिभावक, विद्यार्थी, विषयविज्ञ, स्थानीय बुद्धिजीवीको सहयोगमा स्थलगत अध्ययन, छलफल गरी प्रयोगात्मक ५० र सैद्धान्तिक ५० गरि १०० पूर्णांकको पाठ्यक्रम तयार गरेको जनाएको छ । चालू शैक्षिक सत्रको असार १ गतेबाट कक्षा ८ मा स्थानीय पाठ्यक्रम लागू गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले आगामी शैक्षिक सत्रमा कक्षा ६, ७ र ८ कक्षामा स्थानीय पाठ्यक्रम लागू गरिसक्ने लक्ष्य लिएको नगरप्रमुख मिश्रले बताउनुभयो ।
नगरपालिकाले निर्माण गर्ने पाठ्यक्रममा नगरपालिकाको अवस्थिति, विश्वप्रसिद्ध चाँगुनारायण मन्दिरलगायत मूतअमूर्त सम्पदा, पर्यटन, संस्कार वा रीतिरिवाज, स्थानीय पेसा र प्रविधि, जीवन दर्शन, स्वास्थ्य, सिर्जना र सिपगत शिक्षाजस्ता विषयवस्तु आधारभूत पक्षलाई विशेष जोड दिएको जनाइएको छ ।
बालबालिका केन्द्रित सिकाइका आधारमा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति लिई नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने मिश्रले जानकारी दिनुभयो । नगरपालिकाले नगर शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काको संयोजकत्वमा श्रीकृष्ण केसी, दधिराम गेलाल सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
स्थानीय पाठ्यक्रम लागू भएसँगै विषयगत शिक्षक र शिक्षिकालाई चाँगुनारायण नगरअन्तर्गत संस्थागत तथा सामुदायिक विद्यायलमा अभिमुखीकरण कार्यक्रम गर्नुपर्ने, दक्षता अभिवृद्धिमा ध्यान दिनुपर्ने विज्ञको सुझाव छ ।
नगरपालिकाले स्थानीय पाठ्यक्रमका सम्बन्धमा सरोकारवालाहरु गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराई, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, सहसचिवहरु रामेश्वर दंगाल, उमेश ढुंगाना, सानोठिमी क्याम्पसका प्राध्यापक रुद्रध्वज खड्का, भक्तपुर क्याम्पसका सह–प्राध्यापक सरोज तिमित्सिना, उच्च अदालत पाटनका न्यायाधिश नातीबाबु लामिछाने, नगरपालिकाका उपप्रमुख बिणा बास्तोला, प्रमुख प्रशासकिय अधिकृत चिरन्जीबी तिमिल्सिना,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी लगायतले सुझावहरु दिनुभयो । चाँगुनारायण नगरपालिकामा ३५ सामुदायिक र २५ संस्थागत विद्यालय छन् ।





प्रतिकृया