महाशिवरात्रिका दिनझन्डै ८ लाख भक्तजनले पाशुपत क्षेत्र पुगेर दर्शन गरे
प्रकाशित मिति
२०७७ फाल्गुन २८ गते, शुक्रबार १०:५५
काठमाडौं : महाशिवरात्रिका दिन बिहीबार लाखौं भक्तजनले पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन र पूजाआजा गरेका छन्। विगत वर्षजस्तो भीडभाड नभए पनि झन्डै ८ लाख भक्तजन पाशुपत क्षेत्र पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
बिहान साढे ३ बजेदेखि मन्दिरका ढोका खोलिएको र रातभर खुला गरिएको कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताए। ‘रातभर पनि खुला हुने भएकाले ९ बजेसम्म लाइनबाटै दर्शन भइरहेको थियो कोषाध्यक्ष डा. थापाले भने।
कोरोना भाइरसका कारण यसपटक नागाबाबाको संख्या १ सय र अरू साधुसन्तको संख्या ३ सयमा सीमित रहेको कोषले बताएको छ। विगत वर्ष नागाबाबाको संख्या ५ देखि ६ सय पुग्थ्यो। अन्य साधुसन्तको संख्या २ हजारभन्दा बढी हुने गरेको थियो। त्यस्तै भारत मलेसियालगायत देशबाट आउनेको संख्या पनि एकदमै न्यून भएको कोषले जनाएको छ।
कोषले केही दिनअघि भक्तजनलाई मास्क अनिवार्य लगाउन भनेको थियो। सकेसम्म दूरी कायम राख्न पनि आग्रह गरेको थियो। ‘सबैजसो भक्तजनले दूरी राख्न त सम्भव भएन तर मास्क नलाउनेलाई फर्काउने भनिएकाले सबैले लगाएको पायौं’, कोषका निमित्त उपनिर्देशक एवं शिवरात्रि पर्वका प्रवक्ता रेवती अधिकारीले भने, ‘कतिपय संस्थाले मास्क त कतिपयले स्यानिटाइजर ठाउँठाउँबाट बाँडे। निःशुल्क खाना र चियापानीको व्यवस्थाले पनि भक्तजनलाई सहज बनाएको थियो।’
गत वर्ष थाइल्यान्ड, अस्ट्रेलिया, इन्डोनेसिया र भारतबाट ल्याइएका झन्डै अढाई करोड रुपैयाँको फूलले सजाइएको पाशुपत क्षेत्रमा यसपटक त्यो रमझम थिएन। अधिकांश भक्तजनले भने यसपटक सुनको जलहरी शिवरात्रिको आकर्षण भएको बताए। झापा दमकबाट आएकी शारदा नेपाल भट्टराईले दोस्रोपटक पाशुपत क्षेत्रमा शिवरात्रि मनाएको बताइन्। ‘एक दशकअघि अत्यधिक भीड थियो यसपटक सायद कोरोनाले होला, धेरै भीड भएन’, उनले भनिन्। गत वर्ष फूलको झिलिमिली पनि हेर्न नपाएको उनले बताइन्। भनिन्, ‘मन्दिरभित्रको जलहरी हेर्ने मन भए पनि लाइन नबसेकाले पाइएन।’
महाशिवरात्रिका अवसरमा मन्दिर दर्शन र पूजाआजा गर्न कोषले चारवटा लाइनको व्यवस्था गरेको थियो। मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर भएर उत्तरढोकाबाट एउटा लाइन, बत्तीसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगंगा, पिंगलास्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवल, दक्षिणढोका हुँदै स्थानबाट दुई लाइन गरी बाहिरी रूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको थियो।
अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए।। ढकालका अनुसार बिहानपख तिलगंगाबाट सुरु हुने लाइन लम्बिएर झन्डै सूचना विभागसम्म पुगेको थियो। साँझपख पुनः लाइनमा संख्या थपिएको र भक्तजनको संख्या बढेको उनले बताए।
तिलगंगाबाट सुरु हुने लाइन सुमार्गी भवनबाट अगाडि बढ्दा बीचबाट मान्छे छिरेका कारण लाइन केही बेर असरल्ल बनेको थियो। काँडाघारीबाट पुगेकी रोमिसा कोइरालाले लाइन व्यवस्थित भए पनि बेलाबेला अरू घुसेको बताइन्। उनका अनुसार लाइन बसेर पूजा गर्दा चार घण्टा लागेको थियो। कोषले भने छिटोमा एक घण्टामै दर्शन गराएको दाबी गरेको छ। ‘प्रहरीले लाइन व्यवस्थित गरेको पाएँ, स्वयंसेवकले पनि नम्र व्यवहारसहित सेवा गरेको पाएँ’, उनले भनिन्।
राष्ट्रपतिबाट विशेष पूजा
राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ पौने ५ बजे पशुपतिनाथ मन्दिरको दर्शन र पूजाआजा गरिन् । राष्ट्रपति भण्डारीले राष्ट्रका नाममा ११ हजार १ सय रुपैयाँको विशेष पूजा गरेकी थिइन्। यसैगरी सवा ५ बजेतिर मन्दिर पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनले ५ हजार १ सय रुपैयाँको पूजा गरे।
कोषाध्यक्ष थापाका अनुसार शिवरात्रिका दिन खुला गरिएका ११ हजार एक सय र पाँच हजार एक सयका दुईवटा विशेष पूजा ७ सय भक्तजनले गरे। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले साढे ४ बजे दर्शन गरेका थिए। उनले सुनको जलहरीबारे चासो व्यक्त गरेको कोषले जनाएको छ।






प्रतिकृया