पूर्वप्रहरीकै सेटिङमा एयरपोर्टभित्र गोली र पेस्तोल
प्रकाशित मिति
२०७७ पुष २१ गते, मंगलवार १०:४५
काठमाडौं, प्रहरीका पूर्वसईकै सेटिङमा एयरपोर्टसम्म गोली र पेस्तोल पुगेको पाइएको छ। सुरक्षाको हिसाबले अति संवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल डोमेस्टिक कक्षबाट आइतबार ५० थान गोली बरामद भएपछि प्रहरीले अनुसन्धान गर्दा पूर्व प्रहरी कर्मचारीको सेटिङ भएको भेटिएको हो।
श्री एयरलाइन्सको जहाजबाट भद्रपुरतर्फ प्रस्थान गर्न लागेका राईलाई चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरीले दिउँसो १२ बजे समातेको थियो। राईले झोलाभित्र पेस्तोल र गोली राखेका थिए।
प्रहरीको हाते चेकिङसमेत छलेका उनले एक्सरे मेसिनमा झोला चेक गर्ने क्रममा मेसिनले पत्ता लगाएको थियो। मेसिनले मेटल र धातुजन्य वस्तु बोकेको संकेत दिएपछि प्रहरीले झोला खोल्ने क्रममा गोली र पेस्तोल देखिएको थियो।
विमानस्थलका प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले विमानस्थल जस्तो संवेदनशील ठाउँमा गोली भेटिनु आश्चर्यजनक विषय रहेको बताए।
उनले भने, ‘हामीले कडाइ गरेकै कारण गोली फेला पर्यो, यो निकै गम्भीर र आश्चर्यजनक घटना हो ।’ उनका अनुसार पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत गौशालामा राखिएको छ ।
प्रहरीका अनुसार पेस्तोल र गोलि बोक्ने व्यक्ति झापा मेचीनगर–२ का बद्रीहाङ राई प्रहरीका पूर्वकर्मचारीका छोरा भएको खुलेको छ। बद्रिहाङका बुबा रामचन्द्र राई ४ वर्षअघि मात्रै प्रहरी सेवाबाट अवकाश प्राप्त थिए। उनका छोरा बद्रिहाङ पक्राउ परेपछि उनले बाबुकै योजनामा पेस्तोल र गोली बोकेको प्रहरीलाई बताएका छन् । नागरिक दैनिकबाट








प्रतिकृया