मलेसियामा विदेशी कामदारको निःशुल्क कोरोना परीक्षण गर्न आदेश
प्रकाशित मिति
२०७७ पुष १० गते, शुक्रबार ०३:५६
काठमाडौं – मलेसियामा रोजगारदाताले विदेशी कामदारको अनिवार्यरूपमा कोरोना भाइरस ९कोभिड–१९०को परीक्षण गर्नुपर्ने भएको छ । मलेसियाको राष्ट्रिय सुरक्षा परिषदले आगामी जनवरी १ तारिखदेखि विदेशी कामदारको निःशुल्क परीक्षण शुरु गर्नुपर्ने बताएको छ ।
हाल मलेसियामा १७ लाखभन्दा बढी विदेशी कामदार रहेका छन् । त्यसमा नेपाली साढे तीन लाख रहेका छन् ।
मलेसियाका बरिष्ठ मन्त्री ईस्माईल साब्री याकोबले विदेशी कामदारको कोभिड–१९ परीक्षण नगराउने रोजगारदातालाई कारवाही हुने चेतावनीसमेत दिएका छन् । उनले केही रोजगारदाताले कामदारको कोभिड परीक्षणमा असहमति जनाई असहयोग गरेको भन्दै अनिवार्य नियम पालना नगर्ने रोजगारदातालाई कडा कारवाही हुने बताए ।
मन्त्री याकोबले यो सवै क्षेत्रमा काम गर्ने श्रमिकमा लागू हुने र क्वालालम्पुर, सेलेंगर, पेनाङ, नेग्री सेम्विलान तथा सवाहमा लागू भइसकेको जनाएका छन् । पछिल्ला दिनमा विदेशी कामदारमा संक्रमण बढेपछि त्यसले समुदायस्तरमा फैलाउने चिन्ता बढेको छ ।
कामदारका होष्टल साँघुरा र बस्न समस्या रहेको, कार्यस्थल तथा आवासमा सामाजिक दुरी कायम हुन नसकेका कारण कोभिडको संक्रमण विदेशी कामदारमा बढेको खबर स्थानीय सञ्चारमाध्यममा आएका छन् ।
मलेसियाको टप ग्लोब्स कम्पनीमा काम गर्ने एक नेपालीको कोभिड–१९ कै कारण मृत्यु भएको छ भने उक्त कम्पनीमा ५ हजार भन्दा बढी कामदारलाई कोभिड–१९ को संक्रमण देखिएपछि पटक–पटक छानविन भएको छ । कम्पनीले एक नेपाली कामदारलाई कार्यस्थलमा भिडभाड भएको र सामाजिक दूरी कायम नभएको देखिने फोटो सार्वजनिक गरेपछि उनलाई कामबाट निकालिएकोमा चौतर्फी दवाबपछि टप ग्वोब्सले विना शर्त काममा फर्काएको छ






प्रतिकृया