डा. केसीसँग वार्ता गर्न सचिव पठाएको प्रधानमन्त्रीको भनाई
प्रकाशित मिति
२०७७ आश्विन २० गते, मंगलवार ०८:५८
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्नको लागि नेपाल सरकारका सचिवलाई पठाएको बताएका छन् । मङ्गलवार नेकपा सचिवालय बैठकमा सदस्यहरूले डा. केसीसँग तत्काल वार्ता प्रक्रिया अगाडी बढाउनु पर्ने माग राखेपछि प्रधानमन्त्री ओलीले आज वार्ताका लागि सचिव पठाएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले डा.केसीसँग वार्ता सुरु भएको बताउँदै केही मागहरू पूरा भइसेकेका पनि बताए । उनले केसीलाई अहिले अनसन अन्त गर्न पनि आग्रह गरेको बताए । प्रधानमन्त्री ओलीसँग नेकपाका सचिवालय सदस्यहरू झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतले तत्काल वार्ताको पहल गर्न आग्रह गरेका थिए ।
बैठकपछि प्रवक्तासमेत रहेका नेता श्रेष्ठले डा. केसीका कतिपय विषयहरू कार्यान्वयनको प्रक्रियामा रहेकाले अहिले अनसन बस्नु उपयुक्त समय नभएको बताएका थिए । उनले सचिवालय बैठकले डा. केसीलाई अनसन अन्त्य गर्न आग्रह गरिएको बताए ।
आजै केसीलाई भेट्न शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोली शिक्षण अस्पताल पुगेको थियो । टोलीले औपचारिक वार्ताका लागि टोली नबनेको भन्दै अनशन तोड्न केसीलाई आग्रह गरेको थियो ।






प्रतिकृया