प्रधानमन्त्री ओलीको नाममा प्रतिष्ठान, शेखपछि सबै सम्पति प्रतिष्ठानलाई
प्रकाशित मिति
२०७७ बैशाख २ गते, मंगलवार ११:२७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाममा प्रतिष्ठान दर्ता गरेका छन्। उनले आफू निकट नेताहरूलाई यसको जानकारी गराएका हुन्।
ओलीले प्रधानमन्त्री हुनुअघि नै सो प्रतिष्ठान दर्ता गराएका हुन्। प्रधानमन्त्री हुनु अगावै प्रतिष्ठान दर्ता गराएको भएपनि सोको जानकारी हालैमात्र आफूहरूलाई गराएको ओली निकट नेपाल कम्युनिस्ट पार्टीका एक स्थायी समिति सदस्यले बताए।
उहाँले प्रतिष्ठान दर्ता गराएको जानकारी दिनुभएको छ। उहाँले बालकोटको निवास र सोले चर्चेको जग्गा आफ्नो र पत्नी राधिका शाक्यको शेखपछि प्रतिष्ठानले भोगचलन गर्ने बताउनु भएको छु, ती स्थायी समिति सदस्यसँग भने। त्यसैगरी ओलीले प्रतिष्ठानले के कसो गर्ने, कसरी गर्नेमा छलफल गरेर अगाडि बढ्ने बताएको पनि ती सदस्यले बताए।
प्रधानमन्त्री भएपछि सार्वजनिक भएको सम्पति विवरण अनुसार ओलीको सबैजसो अचल सम्पति पत्नी राधिकाको नाममा छ। त्यसमा भक्तपुरको बालकोटमा डेढ रोपनीको क्षेत्रफलमा रहेको ३ तल्ले दुई वटा घर छन्। यस्तै झापामा १० कट्ठा जमिन पनि राधिकाकै नाममा छ।
यसैगरी ओलीले त्यतिबेला बुझाएको सम्पति विवरणमा श्रीमती शाक्यको नाममा माछापुछ्रे बैंकमा ४ लाख, प्रभू बैंकमा ६ लाख र २५ लाख रुपैयाँको बचतपत्र रहेको उल्लेख गरेका थिए। यसैगरी ओलीले आफ्नो नाममा एभरेष्ट बैंकमा ४२ लाख रूपैयाँ रहेको जनाएका थिए। उनले आफ्नो सम्पतिको श्रोत तलबभत्ता देखाएका छन् भने श्रीमती शाक्यको सम्पति पनि स्वआर्जन रहेको उल्लेख छ।
हिजो मात्रै नयाँ वर्ष २०७७ सालको शुभकामना दिदैं ओलीले देशमा जारी कोरोना संकट नटरेसम्म आफ्नो सम्पूर्ण तलबभत्ता प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका थिए। सेतोपटी अनलाईनबाट साहाभार





प्रतिकृया