नेपाल टेलिकमले ल्यायो घरमै बसीबसी रिचार्ज गर्ने सजिलो सुविधा
प्रकाशित मिति
२०७६ चैत्र १८ गते, मंगलवार ०६:३९
काठमाडौं, नेपाल टेलिकमले सेवाग्राहीका लागि रिचार्ज गर्न सजिलो सुविधा ल्याएको छ । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्णरुपमा लकडाउन घोषणा गरिएको अवस्थामा नेपाल टेलिकमका ग्राहकवर्गको सुविधाका लागि महशुल भुक्तानी, ब्यालेन्स टपअप र ब्यालेन्स ट्रान्सफरमा सुविधा ल्याएको हो ।
नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा (MPOS) तथा KIOSK मेसिन, विभिन्न भुक्तानी सेवाका APP हरु, विभिन्न बैंकका अनलाइन/मोबाइल बंैकिंङ सेवाहरु तथा विभिन्न बैंकका Visa Card/Maser Card का विकल्पहरु उपलब्ध रहेका छन् ।

यसैगरी ब्यालेन्स ट्रान्सफरबाट सीमित रुपमा परिवारका सदस्यहरु र साथीभाईबीच टपअप गर्न सकिने सुविधा पनि उपलब्ध रहेको छ । यी विकल्पहरु सम्बन्धी विस्तृत जानकारी कम्पनीको वेबसाइटको पेज https://www.ntc.net.np/post/online-topup मा उपलब्ध गरिएको छ ।

हाल कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणका लागि मुलुक पूर्णरुपमा लकडाउनको अवस्थामा रहेको हुनाले कम्पनीको रिचार्ज कार्ड बिक्री हुने स्थानसम्म पुग्न ग्राहकवर्गलाई कठिनाई हुनसक्ने देखिएको छ । ग्राहकवर्गले सहजरुपमा महशुल भुक्तानी तथा टपअप गरी कम्पनीका सेवाहरु मार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा टपअपको व्यवस्थामा केही परिमार्जन गरिएको छ ।
(क) मोबाइल भुक्तानी सेवा MPOS तथा KIOSK मेसिन
यस अन्तर्गत कम्पनीका आधिकारिक MPOS सेवा प्रदायकहरु (जस्तै : stationery पसल, किराना पसल, पत्रिका पसल आदि) तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका KIOSK मेसिनहरुमा गई कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।
(ख) विभिन्न भुक्तानी सेवाका APP हरु
यस अन्तर्गत भुक्तानी सेवा प्रदायकहरु (जस्तै : eSewa, Khalti, IMEPay आदि) का APP हरु प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।
(ग) विभिन्न बैंकका अनलाइन तथा मोबाइल बैंकिंङ सेवाहरु
यसका लागि आफ्नो खाता भएका बंैकबाट Online Banking वा Mobile Banking को सुविधा लिई सोही बंैकको Webpage वा Mobile APP प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।
(घ) विभिन्न बैंकका VISA/MASTER Card हरु
चलनचल्तीको भाषामा डेविट कार्ड, क्रेडिट कार्ड वा ATM कार्ड भनिने यी कार्डहरुको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्न https://cardpay.ntc.net.np/ मा लगअन गर्नुपर्दछ । सो पश्चात् आफूले रिचार्ज गर्न चाहेको मोबाइल नम्बर टाइप गरी रिचार्ज गर्न चाहेको रकम छान्नु पर्दछ । त्यसपछि आफ्नो कार्ड नम्बर, कार्डको अवधि समाप्त हुने मिति (Expiry Date: MM/YY), कार्ड होल्डरको नाम र CVV (अर्थात् कार्डको पछिल्लो भागमा छापिएको तीन अंक) तथा इमेल टाइप गरी OK गर्नुपर्दछ । साथै, यस प्रक्रियामा ‘क्याप्चा’ र आफ्नो मोबाइल/इमेलमा आउने ६ अंकको कोड पनि प्रयोग गर्नुपर्दछ ।
माथि उल्लेख गरिएका महशुल भुक्तानी तथा टपअपका विकल्पहरुको अलावा व्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरिएको छ । हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा USSD कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एकसय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था रहेकोमा परिमार्जित व्यवस्था अनुसार एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिनेछ ।
यसका लागि मोबाइलबाट *422*SCode*MobileNumber*AmountInRupees# डायल गर्नु पर्दछ भने यसमा उल्लेख गरिएको SCODE (सेक्युरिटी कोड) प्राप्त गर्न SCODE टाइप गरी १४१५ मा SMS पठाउनु पर्दछ । उदाहरणका लागि व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर ९८४१xxxxxx मा रु. २०० ट्रान्सफर गर्न *422*SCode*9841xxxxxx*200# डायल गर्नु पर्दछ । USSD कोडको अलावा नेपाल टेलिकमको मोबाइल एप (Nepal Telecom APP) बाट पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।
यसरी व्यालेन्स ट्रान्सफर गरेपछि रकम पठाउने र रकम प्राप्त गर्ने दुबै नम्बरमा ट्रान्सफर गरिएको रकम सहितको सन्देश १४१५ बाट SMS Alert को रुपमा प्राप्त हुन्छ ।




प्रतिकृया