वैदेशिक रोजगार विभाग र एनआरएनएबीच वैदेशिक रोजगारीमा भएको समस्याबारे छलफल
प्रकाशित मिति
२०७६ मंसिर ११ गते, बुधबार ०४:२५
काठमाडौं, वैदेशिक रोजगार विभाग र गैर आवासीय नेपाली संघ (एनआरएनए)बीच वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका समस्या समाधानमा साझेदारी गर्ने विषयमा छलफल भएको छ ।
संघका नवनिर्वाचित पदाधिकारीहरुलाई विभागको तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै महानिर्देशक डा. भीष्मकुमार भूसालले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि गैर आवासीय नेपाली संघसँग विभाग हातेमालो गर्न इच्छुक रहेको जानकारी गराएको विभागले जनाएको छ ।

छलफलमा संघमा आवद्ध कन्ट्रि च्याप्टरका कतिपय पदाधिकारी तथा सदस्यहरुले भिजिट भिसामा नेपालीहरुलाई लगी काममा लगाउने एजेन्टको काम गरेको, म्यानपावर व्यवसायीको प्रतिनिधि भई काम गरेको जस्ता गुनासाहरुप्रति संघको ध्यानाकर्षण भएको जनाउँदै वैदेशिक रोजगारीमा गएका कामदारहरुको हकहितमा र अप्ठयारोमा परेका नेपालीहरुको राहत र उद्धारमा संघले योगदान पुर्याएको जानकारी समेत गराएका थिए ।

छलफलमा संघले वैदेशिक रोजगार राहत कोष खडा गरी रकम संकलन गरिरहेको तर उक्त कोषमा रकम न्यून भएकोले विप्रेषण सेवा प्रदायकले पाउने सेवा शुल्कको निश्चित हिस्सा उक्त कोषमा जाने व्यवस्था गर्न उपयुक्त हुने सुझाव राख्दै प्राकृतिक कारणले मृत्यु भएका नेपाली कामदारहरुको लागि बीमाको व्यवस्था हुनुपर्ने, वैदेशिक रोजगारीका क्रममा हुने गरेको मृत्युदरलाई घटाउन थप जनचेतनाका लागि श्रव्यदृश्य सहितको प्रभावकारी अनुशिक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।
छलफलमा विभागका महानिर्देशक डा. भूसाल सहित निर्देशकहरु हरिप्रसाद ज्ञवाली र भोलानाथ गुरागाई सहभागी थिए भने गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, सचिव आरके शर्मा, प्रवक्ता डि.बि. क्षेत्री, सदस्यहरु कपिलेदेव थापा, ललित न्यौपाने, शनि कुमार ओली, धर्मराज गिरी, राजु रेग्मी, राजेश राणा र कुनाल मिश्राको सहभागिता रहेको थियो ।




प्रतिकृया