• १६ असोज २०८३, शुक्रबार
  • ५ः२४ बेलुका

ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

प्रकाशित मिति

२०८३ आश्विन १६ गते, शुक्रबार ०५:०८

काठमाडौँ ।  ग्लोबल आइएमई बैंकको २०औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

National Life

प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुग्ने भएको छ।

साधारण सभाले सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो। बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शेयरधनीको निरन्तर विश्वास र सहयोगका कारण बैंकले दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए। ग्राहक, शेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाको सहयोगले बैंकलाई वर्तमान अवस्थामा पुर्‍याउन योगदान गरेको उनको भनाइ थियो।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीति र निर्देशनको पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्दै लैजाने ढकालले बताए। ग्राहकलाई सहज तथा आधुनिक बैंकिङ सेवा उपलब्ध गराउन डिजिटल बैंकिङ प्रणालीमा थप लगानी विस्तार गर्ने योजना पनि उनले सुनाए।

सभाले आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गरेको छ। आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाले अनुमोदन गरेको बैंकले जनाएको छ।

बैंकका अनुसार हाल मुलुकका सबै ७७ जिल्लामा यसको बैंकिङ सञ्जाल विस्तार भएको छ। बैंकले ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ।

बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरेको जनाएको छ। बैंकका अनुसार ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा ‘बेष्ट बैंक नेपाल’ लगायतका अवार्ड प्राप्त भएका छन्। यस्तै, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयरलगायतका सम्मान पनि बैंकले पाएको जनाएको छ

प्रतिकृया