एआईआईबीको गैर–क्षेत्रीय उपाध्यक्षमा नेपाल चयन
प्रकाशित मिति
२०८३ आश्विन १३ गते, मंगलवार १०:३७
१३ असोज २०८३ काठमाडौं — नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्षमा चयन भएको छ । कतारको दोहामा जारी एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकका अवसरमा नेपाललाई आगामी एक वर्षका लागि उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
एआईआईबीको संगठनात्मक संरचनाअनुसार बैंकमा एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकबाट एक–एक जना उपाध्यक्ष रहने व्यवस्था छ । यसपटक गैर–क्षेत्रीय सदस्य समूहबाट नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षका रूपमा चयन भएको छ । वार्षिक बैठकका अवसरमा अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले गैर–क्षेत्रीय उपाध्यक्षको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेका छन् ।
बैठकको दोस्रो दिन आयोजित ‘गभर्नर्स बिजनेस राउण्डटेबल’लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पूर्वाधारमार्फत हुने पूँजी निर्माण कम विकसित मुलुकहरूको आर्थिक वृद्धिको प्रमुख स्रोत रहेको बताए ।
उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख साधनमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । नेपालजस्ता विकासशील मुलुकहरूको विकास आवश्यकता र प्राथमिकतासँग मेल खाने गरी एआईआईबीको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
अर्थमन्त्री वाग्लेले स्वदेशी तथा विदेशी निजी पूँजी आकर्षित गर्ने वातावरण सिर्जना हुने गरी वित्तीय स्रोत उपलब्ध गराउनुपर्ने धारणा राखे । पूर्वाधार विकासमा सार्वजनिक लगानीसँगै निजी क्षेत्रको पूँजी परिचालन आवश्यक रहेको उल्लेख गर्दै उनले विकासशील मुलुकको पूर्वाधार आवश्यकतालाई सम्बोधन गर्न बैंकको वित्तीय भूमिका थप प्रभावकारी हुनुपर्ने बताए ।
नेपाल एआईआईबीको संस्थापक सदस्य राष्ट्रमध्ये एक हो । उपाध्यक्षको जिम्मेवारीले नेपाललाई बैंकको नीति, लगानी प्राथमिकता तथा विकास वित्तसम्बन्धी छलफलमा थप सक्रिय भूमिका निर्वाह गर्ने अवसर प्रदान गर्नेछ ।







प्रतिकृया