बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता
प्रकाशित मिति
२०८३ आश्विन १३ गते, मंगलवार ०९:३०
१३ असोज २०८३ बागलुङ- बागलुङमा पछिल्लो तीन दिनयता आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोका रहेका छन् ।
पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिएका छन् । यसअघि शनिबार पनि ताराखोलामै एक जनाको मृत्यु भएको थियो । यससँगै ताराखोला गाउँपालिकामा मात्रै बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
त्यस्तै, आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन् । निसीखोला गाउँपालिकामा पनि पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीपहिरोबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।







प्रतिकृया