नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
प्रकाशित मिति
२०८३ भाद्र ३१ गते, बुधबार ०३:३६
३१ भदौ २०८३ काठमाडौं — नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ।बुधबार बसेको अर्थ समितिको बैठकले समितिका सभापति डा. कृष्णहरि बुढाथोकीको आग्रहमा प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो।
बैठकमा सभापति बुढाथोकीले समितिका सदस्यबाट प्राप्त सुझाव तथा सल्लाहका आधारमा विधेयकमाथि दफावार छलफल गरी सर्वसम्मत निर्णय गरिएको बताए। विधेयकलाई सर्वसम्मत ढंगले अघि बढाउने विषयमा सबै सदस्यको सकारात्मक धारणा रहेको उनको भनाइ थियो।
समितिका निर्णयका आधारमा प्रतिवेदन तयार गरिएको भन्दै सभापति बुढाथोकीले बैठकबाट भएका निर्णयबाहेक अन्य विषय प्रतिवेदनमा समावेश भए–नभएको जाँच गर्न बैठक केन्द्रित भएको जानकारी दिए। सदस्यहरूले आवश्यक ठानेमा थप सुझाव तथा धारणा अर्थ समिति सचिवालयमा लिखित रूपमा अभिलेख गराउन सक्ने व्यवस्था रहेको उनले बताए।
नेपाल राष्ट्र बैंक ऐन संशोधनले मुलुकको आर्थिक विकासमा संरचनागत परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै सभापति बुढाथोकीले विशेषगरी राष्ट्र बैंकको नेतृत्व चयन तथा नेतृत्वको कार्यसम्पादनसँग सम्बन्धित विषयमा समितिमा महत्वपूर्ण छलफल भएको जानकारी दिए।






प्रतिकृया