सेयर कारोबारमा पूँजीगत लाभकर घटाउने सरकारको घोषणा
प्रकाशित मिति
२०८३ भाद्र ३० गते, मंगलवार ०९:३१
काठमाडौं । सरकारले सेयर कारोबारमा हुने लाभमा लाग्ने पूँजीगत लाभकर घटाउने भएको छ। पूँजी बजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै अर्थ मन्त्रालयले पूँजीगत लाभकर घटाउने घोषणा गरेको हो।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को २०औँ बुँदामा प्राकृतिक व्यक्तिले सेयर कारोबारबाट प्राप्त गर्ने लाभमा लाग्ने पूँजीगत लाभकर घटाउने उल्लेख गरिएको छ। कार्ययोजनाअनुसार ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको सेयरबाट प्राप्त लाभमा ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको सेयरबाट प्राप्त लाभमा ५ प्रतिशत पूँजीगत लाभकर कायम गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, सूचीकृत सेयरको बिक्रीबाट भएको नोक्सानी समायोजन गर्न पाउने व्यवस्था गर्ने घोषणा पनि सरकारले गरेको छ। कार्ययोजनामा आयकर ऐनको दफा ९५ को उपदफा (२) को खण्ड (क) बमोजिम कर तिरेका बासिन्दा प्राकृतिक व्यक्ति वा बासिन्दा निकायले कुनै आय वर्षमा सूचीकृत धितोपत्रको बिक्रीबाट नोक्सानी बेहोरेमा सोही आय वर्षमा सूचीकृत धितोपत्रको बिक्रीबाट भएको लाभमा उक्त नोक्सानी समायोजन गर्न पाउने व्यवस्था गरिने उल्लेख छ।






प्रतिकृया