• २९ भदौ २०८३, सोमबार
  • ११ः३९ बिहान

संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

प्रकाशित मिति

२०८३ भाद्र २९ गते, सोमबार ११:१६

२९ भदौ २०८३ काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले आगामी असोज ३ गते संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार गत शुक्रबार बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले असोज ३ गते भव्य कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

National Life

मूल समारोह समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहले संविधान दिवसको औपचारिक कार्यक्रममा राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका रहेको स्रोतले जनाएको छ ।

यसअघि प्रधानमन्त्री शाहले विभिन्न अवसरमा सामाजिक सञ्जालमार्फत धारणा राख्दै आए पनि प्रधानमन्त्रीको हैसियतमा औपचारिक रूपमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेको यो पहिलोपटक हो ।

Classic Tech Mobile
Classic Tech Desktop

गत भदौ १० गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नोत्तर कार्यक्रममार्फत सम्बोधन गर्ने तयारी भए पनि रसुवाको भोटेकोशीमा बाढी आएपछि उक्त कार्यक्रम स्थगित भएको थियो ।

नेपालको संविधान जारी भएको आगामी असोज ३ गते ११ वर्ष पूरा भई १२औँ वर्षमा प्रवेश गर्दैछ । संविधान तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम आयोजना गरिनेछ ।

कार्यक्रममा प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई स्वागत गर्ने तथा सोही मञ्चबाट संविधान दिवसको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

मूल समारोह समितिमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सांसदहरू, मन्त्रीहरू, चारवटै सुरक्षा निकायका प्रमुख तथा काठमाडौं उपत्यकाका सबै स्थानीय तहका प्रमुखलगायत सदस्य रहेका छन् ।

नेपालको संविधान २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले जारी गरेका थिए । संविधानमा ३५ भाग, ३०८ धारा र ९ वटा अनुसूची रहेका छन् ।

प्रतिकृया