रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
प्रकाशित मिति
२०८३ भाद्र २२ गते, सोमबार ०५:२८
२२ भदौ २०८३ काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट सिर्जित विपत्तिको सामना गर्न सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् । सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय तथा आम नागरिकलाई विपद्को सामना गर्न एकजुट हुन आग्रह गरेका हुन् ।

विपत्तिको कठिन घडीमा विभाजन, दोषारोपण तथा राजनीतिक विवादमा अल्झिने समय नभएको भन्दै उनले राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्नुपर्नेमा जोड दिए । ‘यो विभाजनको समय होइन । एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन । यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो,’ राष्ट्रपति पौडेलले भने ।
उनले विपत्तिपछिको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्नुपर्ने बताए । साथै, विपद्को अनुभवबाट सिक्दै मुलुकको विद्यमान विकास मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘यो समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो,’ पौडेलले भने, ‘हामी पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ ।’



प्रतिकृया