कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
प्रकाशित मिति
२०८३ भाद्र १८ गते, बिहीबार ०१:५०
१८ भदौ २०८३ काठमाडौं — बाढीका कारण क्षतिग्रस्त नागढुंगा–मुग्लिङ सडकखण्डको कृष्णभीरमा सडक पुनः सञ्चालनका लागि रुख कटानको काम सुरु गरिएको छ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण सडक भासिएपछि अवरुद्ध बनेको उक्त खण्ड खुलाउन दुवैतर्फबाट रुख कटान थालिएको हो। सडक योजना (पश्चिम खण्ड)की प्रमुख सजना अधिकारीका अनुसार हाल २९ जना जनशक्ति परिचालन गरी काम भइरहेको छ।
सडक मर्मत तथा पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीसमेत कार्यस्थलमा खटाइएको छ। नेपाल जियोटेक सोसाइटीले प्रभावित क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको छ। सोसाइटीले बिहीबार बेलुकासम्म सडक खुलाउने प्रक्रियासम्बन्धी नक्सांकनसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ। प्रतिवेदन प्राप्त भएपछि पहिरो पन्छाउने तथा सडक सुचारु गर्ने काम औपचारिक रूपमा अघि बढाइने अधिकारीले बताइन्।

निर्माण व्यवसायी र प्राविधिक टोलीले अहिले पहिरो प्रभावित क्षेत्रको अवस्था अध्ययन गर्दै सडक खुलाउन आवश्यक पूर्वतयारीलाई तीव्रता दिएका छन्।





प्रतिकृया