रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
प्रकाशित मिति
२०८३ भाद्र १७ गते, बुधबार ०४:४२
१७ भदौ २०८३ काठमाडौं — रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबारे प्रतिनिधिसभाले विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालले प्रस्तुत गरेको विशेष प्रस्तावलाई सांसदहरूले सर्वसम्मतिले पारित गरेका हुन्।
भदौ १० गते आएको भीषण बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावतीदेखि नुवाकोटको त्रिशूली बजार र देवीघाट हुँदै धादिङ, चितवन तथा गोरखाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा १ हजार ११४ जनाको शव फेला परेको, ३ हजार ९१६ जना सम्पर्कविहीन र २९२ जना घाइते भएका छन्। हालसम्म प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।

बैठकमा प्रधानमन्त्री बालेन शाहले सरकारले गरेका खोज, उद्धार, उपचार तथा राहतका कामबारे संसद्लाई जानकारी गराएका थिए। त्यसपछि विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गरेका थिए। विशेष प्रस्तावमार्फत बाढी प्रभावितको उद्धार, राहत, पुनःस्थापना र सम्पर्कविहीनको खोजीलाई प्राथमिकता दिन, घाइतेको निःशुल्क उपचार गर्न तथा पहिचान नखुलेका शवको वैज्ञानिक व्यवस्थापन गर्न सरकारलाई आग्रह गरिएको छ।

त्यस्तै, पुनर्निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गर्दै स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न र विपद्को सामना गर्दा राष्ट्रिय एकता कायम राख्न पनि प्रस्तावमार्फत आग्रह गरिएको छ।
यसअघि मंगलबार राष्ट्रिय सभाले पनि रसुवा बाढीबारे विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो।




प्रतिकृया