रसुवा बाढी प्रभावितको पुनर्स्थापनाका लागि कार्यदल गठन, २१ दिनभित्र प्रारम्भिक योजना बनाइने
प्रकाशित मिति
२०८३ भाद्र १६ गते, मंगलवार ०१:४८
१६ भदौ २०८३ काठमाडौं — पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सामान्य जीवनमा फर्काउन कार्यदल गठन गरेको छ। मन्त्रालयले २१ दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको जनाएको छ।
कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्यलगायत क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। साथै सम्बन्धित निकाय तथा एजेन्सीलाई परिचालन गरी कामको नियमित अनुगमन र प्रतिवेदन तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ।

मन्त्रालयका अनुसार कार्यदलले विपद्बाट भएको क्षति र जोखिमको शीघ्र प्राविधिक तथा वस्तुगत मूल्याङ्कन गर्नेछ। तत्काल सञ्चालन गर्नुपर्ने आपत्कालीन पुनर्स्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गर्ने जिम्मेवारी पनि कार्यदलले पाएको छ।

प्रभावित क्षेत्र, संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गर्दै तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गरिने मन्त्रालयले जनाएको छ। कार्यदलले संघ, प्रदेश र स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदारबीच आवश्यक समन्वय गर्नेछ। पुनर्निर्माणका क्रममा भूगर्भीय अवस्था, जलवायु परिवर्तन तथा बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै ‘बिल्ड ब्याक बेटर’ सिद्धान्तअनुसार काम अघि बढाइने जनाइएको छ।
मन्त्रालयले प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापना, अत्यावश्यक पूर्वाधारको पुनःसञ्चालन तथा नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने जनाएको छ।




प्रतिकृया