मेडिकल टिम बोकेर बाढी प्रभावित क्षेत्रतर्फ उड्यो सेनाको हेलिकप्टर
प्रकाशित मिति
२०८३ भाद्र १० गते, बुधबार ११:२६
१० भदौ २०८३ काठमाडौं – रसुवा हुँदै नुवाकोट र धादिङसम्म बाढीको प्रभाव बढेपछि नेपाली सेनाको एआई–१७ हेलिकप्टर मेडिकल टिम बोकेर बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) लिएर हेलिकप्टर जिल्ला अस्पताल त्रिशूलीतर्फ उडेको हो।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा उपचार सेवामा सहयोग पुर्याउन मेडिकल टिम परिचालन गरिएको सेनाले जनाएको छ। यसका साथै धुन्चे र त्रिशूलीबाट उद्धार टोलीसमेत परिचालन गरिएको छ। यसअघि नेपाली सेनाका दुई हेलिकप्टरलाई पनि रसुवालगायत बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि खटाइएको थियो।

आज बिहान तिब्बततर्फबाट आएको बाढी रसुवाको भोटेकोशीमा प्रवेश गरेपछि ठूलो क्षति भएको छ। भोटेकोशी हुँदै आएको बाढी नुवाकोट पार गरेर धादिङतर्फ समेत पुगेको छ। बाढीका कारण नदी तटीय क्षेत्रमा जोखिम बढेपछि उद्धार, राहत तथा स्वास्थ्य सेवाका लागि सुरक्षाकर्मी र सम्बन्धित निकायहरू परिचालन भइरहेका छन्।





प्रतिकृया