• ५ भदौ २०८३, शनिबार
  • १०:१८ बिहान

बञ्चरेडाँडामा स्थानीयको अवरोध, १५ दिनभित्र माग पूरा नभए फोहोर रोक्ने चेतावनी

प्रकाशित मिति

२०८३ भाद्र ६ गते, शनिबार १०:०५

६ भदौ २०८३ काठमाडौं – काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयवासीले एक घण्टा रोकेका छन्। वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नगर्दा गाउँभर दुर्गन्ध फैलिएको भन्दै स्थानीय आन्दोलित भएका हुन्।

सिसडोल–बञ्चरेडाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सन्जेलका अनुसार विगतमा भएका सहमति कार्यान्वयन नभएपछि स्थानीय आन्दोलनमा उत्रन बाध्य भएका हुन्। उनले बुधबार बिहान एक घण्टाका लागि फोहोर बोकेका गाडी रोकेको र १५ दिनभित्र माग सम्बोधन नभए फोहोर विसर्जनमै रोक लगाउने चेतावनी दिए।

Kamana Sewa

स्थानीयले बञ्चरेडाँडामा फोहोरको लिच्चेड खोलामा मिसिएको, कुहिने र नकुहिने फोहोर नछुट्याउँदा ल्यान्डफिल साइटको ड्याम्प भरिएको भन्दै तत्काल व्यवस्थापन गर्न माग गरेका छन्।

Classic Tech Mobile

उनीहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, लिच्चेड व्यवस्थापन, स्थानीयको स्वास्थ्य तथा शिक्षामा विशेष व्यवस्था र रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन्।

बञ्चरेडाँडामा २० वर्षका लागि निर्माण गरिएको ल्यान्डफिल साइटमा अहिले फोहोरको चुली बनेको स्थानीयको भनाइ छ। उनीहरूका अनुसार बञ्चरेडाँडा पनि सिसडोलकै जस्तो डम्पिङ साइटमा परिणत हुँदै गएको छ।

धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमानामा रहेको बञ्चरेडाँडामा विगत चार वर्षदेखि फोहोर विसर्जन हुँदै आएको छ। यसअघि १७ वर्षसम्म सिसडोलमा फोहोर व्यवस्थापन गरिएको थियो।

फोहोर व्यवस्थापनका कारण स्थानीयको स्वास्थ्य, कृषि तथा पशुपालनमा समेत असर परेको स्थानीयको गुनासो छ। उनीहरूले क्यान्सर, मुटु, मिर्गौलालगायतका गम्भीर रोगसँगै झाडापखाला, टाइफाइड, श्वासप्रश्वास तथा छालासम्बन्धी समस्या बढेको दाबी गरेका छन्। फोहोरका कारण अनाज उत्पादनमा कमी आउनुका साथै पशुपक्षी पालनमा समेत असर परेको उनीहरूको भनाइ छ।

काठमाडौं उपत्यकासहित २१ वटा पालिकाको फोहोर सिसडोल–बञ्चरेडाँडा क्षेत्रमा विसर्जन हुँदै आएको छ।

प्रतिकृया