• २१ असोज २०८३, बुधबार
  • ३ः१३ दिउँसो

कर्जा माग सुस्त, पुरानो ऋण असुलीबाट बैंकको नाफा बढ्यो

प्रकाशित मिति

२०८३ भाद्र १ गते, सोमबार ०२:०४

१ भदौ २०८३ काठमाडौं – नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरणले बैंकिङ क्षेत्रको नाफा बढे पनि मुख्य व्यवसाय भने सुस्त रहेको देखाएको छ। वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको समग्र खुद नाफा अघिल्लो वर्षको तुलनामा ३२.३२ प्रतिशतले बढेर ६९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकहरूले ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ नाफा गरेका थिए।

National Life

तर बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी भने १.२७ प्रतिशतले मात्रै बढेको छ। यसले कर्जाको माग कमजोर रहेको र नयाँ व्यवसाय विस्तारबाट बैंकहरूले पर्याप्त आम्दानी गर्न नसकेको संकेत गर्छ। बैंकहरूको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) मा आएको कमीले ठूलो भूमिका खेलेको देखिन्छ। गत वर्ष बैंकहरूको समग्र प्रोभिजनिङ २७.६५ प्रतिशतले घटेको छ। कतिपय बैंकले अघिल्लो वर्ष खराब कर्जाका लागि छुट्याएको रकम राइट ब्याक गरेपछि त्यसको प्रत्यक्ष प्रभाव नाफामा परेको छ।

यस्तै, बैंकहरूले सञ्चालन खर्च नियन्त्रण गर्नुका साथै सेवा शुल्क, कमिसन तथा डिजिटल बैंकिङबाट हुने गैरब्याज आम्दानी बढाएर पनि नाफा सुधार गरेका छन्। यद्यपि, सबै बैंकको अवस्था समान छैन। केही बैंकले अर्बौं रुपैयाँ नाफा कमाउँदा केहीको नाफा घटेको छ भने प्रभु बैंक घाटामा देखिएको छ। केही बैंकले अझै पनि खराब कर्जाका लागि ठूलो रकम प्रोभिजन गर्नुपरेकाले बैंकिङ क्षेत्रमा खराब कर्जाको चुनौती कायमै रहेको देखिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

विश्लेषणले बैंकहरूको पछिल्लो नाफा वृद्धि नयाँ व्यवसाय विस्तारभन्दा पनि पुरानो कर्जा असुली, प्रोभिजन घट्नु र राइट ब्याकमा बढी निर्भर रहेको देखाएको छ। आगामी दिनमा नाफाको दिगोपनका लागि बैंकहरूले नयाँ क्षेत्रमा कर्जा विस्तार, वास्तविक व्यवसाय वृद्धि र खराब कर्जा व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ।

प्रतिकृया