विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
प्रकाशित मिति
२०८३ श्रावण ३० गते, शनिबार ०४:१४
३० साउन २०८३ काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन्। शनिबार महाराजगञ्जस्थित निवासमा भेट्न पुगेका पत्रकारहरूसँग कुराकानी गर्दै उनले विशेष महाधिवेशन आफूले स्वीकार नगरेको बताएका हुन्।
विशेष महाधिवेशनविरुद्ध आफूहरूले मुद्दा दायर गरेको उल्लेख गर्दै देउवाले सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे। अदालतबाट न्याय मिलेपछि पार्टी एकताबद्ध हुने उनको भनाइ थियो। देउवाले लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अत्यावश्यक रहेको बताए। प्रेसले व्यक्तिपूजा नगरी निष्पक्ष रूपमा काम गर्नुपर्नेमा जोड दिँदै उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताए।

पाँच महिनापछि स्वदेश फर्किएका देउवाले आफू सुदूरपश्चिम र विशेषगरी डडेलधुरा जान इच्छुक रहेको पनि बताए। सुदूरपश्चिमका जनताले आफूलाई निरन्तर माया र समर्थन दिएको भन्दै उनले आफूले त्यस क्षेत्रका लागि गर्नुपर्ने जति काम गर्न नसकेको स्वीकार गरे। डडेलधुरामा विमानस्थल निर्माणको माग रहेको उल्लेख गर्दै देउवाले बाँकी काम पूरा गर्ने प्रतिबद्धता पनि जनाए।





प्रतिकृया