• १५ असोज २०८३, बिहीबार
  • १२ः५५ दिउँसो

कुलेखानी बाढीमा बेपत्ता स्कुटर चालक मृत फेला

प्रकाशित मिति

२०८३ असार ३२ गते, बिहीबार १०:४७

३२ असार २०८३ काठमाडौं – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलामा आएको आकस्मिक बाढीले बगाएका स्कुटर चालक मृत अवस्थामा फेला परेका छन्। स्कुटर भेटिएको एक दिनपछि चालकको शव घटनास्थलबाट करिब २०० मिटर तल खोलाको बगरमा बालुवामुनि पुरिएको अवस्थामा फेला परेको हो।

National Life

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले खोजीका क्रममा खोलामा करिब एक मिटर गहिराइमा बालुवा र लेदोले पुरिएको अवस्थामा शव फेला पारेको हो।

घटना असार २९ गते अपराह्न करिब ३ बजे भएको थियो। अविरल वर्षापछि सिमखोलामा आएको आकस्मिक बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो। घटनापछि सुरक्षा निकायले तत्काल खोजी सुरु गरे पनि तीव्र बहाव र प्रतिकूल मौसमका कारण पहिलो दिन सफलता मिलेको थिएन।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि मंगलबार बिहान खोजीका क्रममा बागमती प्रदेश ०२–०३२ प ८०५४ नम्बरको स्कुटर घटनास्थलबाट करिब २०० मिटर तल क्षतविक्षत अवस्थामा फेला परेको थियो। त्यसपछि खोजी अभियान थप तीव्र बनाइएको थियो।

प्रहरीले यातायात व्यवस्था कार्यालयको अभिलेखका आधारमा स्कुटर सर्लाही निवासी महेश कुमार कार्कीको नाममा दर्ता रहेको पुष्टि गरेको थियो। शव फेला परेपछि घटनास्थलमा रहेका परिवारका सदस्यले पहिचान गरेसँगै मृतक महेश कुमार कार्की नै रहेको पुष्टि भएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए।

प्रहरीका अनुसार बाढीले चालकलाई स्कुटरसहित बगाएपछि उनी खोलाको बहावसँगै तल पुगेका थिए। शव बालुवा र लेदोले पुरिएको अवस्थामा फेला परेको हो। शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया