प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्दाबीच उच्चस्तरीय भेट,यस्ता विषयमा भए छलफल
प्रकाशित मिति
२०८३ असार २३ गते, मंगलवार १२:३२
२३ असार २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालको विकास प्राथमिकता, आर्थिक सहकार्य तथा एडीबीले गर्दै आएको सहयोगका विषयमा छलफल भएको हो।
भेटका क्रममा प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्दाबीच नेपालका पूर्वाधार, आर्थिक विकास तथा विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जेनजी आन्दोलनपछि बालेन शाह प्रधानमन्त्री नियुक्त भएलगत्तै कान्दाले सामाजिक सञ्जाल एक्समार्फत नेपालको विकासका प्राथमिकतामा एडीबीको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसैबीच, कान्दाको नेपाल भ्रमणका अवसरमा नेपाल र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता पनि भएको छ। सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष कान्दाको उपस्थितिमा दुई विकास आयोजनाका लागि उक्त ऋण उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरिएको हो।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए। उक्त ऋण पूर्वाधार तथा विकाससम्बन्धी दुई परियोजनामा लगानी गरिने जनाइएको छ।




प्रतिकृया