घरजग्गा कारोबारमा उल्लेख्य सुधार
प्रकाशित मिति
२०८३ असार २३ गते, मंगलवार १२:२५
२३ असार २०८३ काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा देशभर घरजग्गा कारोबारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा कारोबार सङ्ख्या, कारोबार मूल्य, राजस्व संकलन तथा अधिकांश सूचकमा सकारात्मक वृद्धि भएको हो।
प्रतिवेदनअनुसार तेस्रो त्रैमाससम्म घरजग्गाको कुल कारोबार सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा कारोबार ४.५२ प्रतिशतले घटेको थियो। यस अवधिमा कुल १८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा कारोबार मूल्य १०० अर्ब ७ करोड रुपैयाँमा सीमित थियो। त्यस्तै, लिखत पारितअन्तर्गतको कारोबार ०.६२ प्रतिशत र राजीनामा कारोबार १२.१७ प्रतिशतले वृद्धि भएको छ।

घरजग्गा कारोबारमा आएको सुधारसँगै सरकारी राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ। समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलित राजस्व २३.७२ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकर ३१.४२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

यद्यपि, घरजग्गा क्षेत्रमा प्रवाह हुने बैंक कर्जाको वृद्धिदर भने केही सुस्त देखिएको छ। आवासीय घरजग्गा कर्जासहित कुल बैंक कर्जा ५.५५ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७.५२ प्रतिशतभन्दा कम हो। प्रादेशिक रूपमा बागमती प्रदेशमा घरजग्गा कारोबार सबैभन्दा तीव्र रूपमा बढेको छ। बागमतीमा राजीनामा कारोबार ३३.०१ प्रतिशतले वृद्धि हुँदा मधेश प्रदेशमा भने ४.७९ प्रतिशतले घटेको छ। कारोबारको कुल मूल्यका आधारमा पनि बागमती प्रदेश १३१.५२ प्रतिशत वृद्धिसहित अग्रस्थानमा रहेको छ।
स्थानीय तहगत रूपमा काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार सबैभन्दा धेरै बढेको छ। यहाँ कुल कारोबार सङ्ख्या १०८.४२ प्रतिशत, कारोबार भएको क्षेत्रफल ११९.८९ प्रतिशत र कारोबारको कुल मूल्य २२३.१२ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। त्यसपछि पोखरा, ललितपुर, वीरगन्ज, भरतपुर र विराटनगर महानगरपालिकामा पनि उल्लेखनीय वृद्धि देखिएको छ।
उपमहानगरपालिकामध्ये कलैया बाहेक सबैमा कारोबार बढेको छ। बुटवलमा सबैभन्दा धेरै ५६.७९ प्रतिशतले कारोबार वृद्धि हुँदा तुलसीपुर उपमहानगरपालिकामा कारोबार मूल्य १३४.४६ प्रतिशतले बढेको छ। नेपालगञ्ज उपमहानगरपालिकामा भने कारोबार भएको कुल क्षेत्रफलमा ६८.२९ प्रतिशतको गिरावट आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ।




प्रतिकृया