• ४ असार २०८३, बिहीबार
  • ३:०५ बेलुका

मेमोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दा: पूर्वमहानिर्देशक संगीता मिश्रासहित ८ जनाले पाए सफाइ

प्रकाशित मिति

२०८३ असार २ गते, मंगलवार ०६:१०

२ असार २०८३ काठमाडौं – स्वास्थ्य सेवा विभागकी पूर्वमहानिर्देशक संगीता कौशल मिश्र लाई विशेष अदालतले मेमोग्राफी मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइराला को इजलासले मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद सापकोटा, शम्भुप्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकाललाई पनि सफाइ दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले २०८२ कात्तिक २ गते मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले मेमोग्राफी मेसिन खरिद प्रक्रियामा लागत अनुमान तयार गर्ने चरणदेखि नै मिलेमतो गरी ठेकेदार कम्पनीलाई फाइदा पुर्‍याउने उद्देश्यले प्रक्रिया अघि बढाइएको तथा ठेक्का सम्झौताअनुसार सम्पूर्ण सामग्री नआउँदै झुटो तथा नक्कली बिलबिजकका आधारमा १३ करोड ३७ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरिएको आरोप लगाएको थियो।

Kamana Sewa

अख्तियारका अनुसार १२ करोड ७५ लाख रुपैयाँ लागत अनुमान स्वीकृत भएको ठेक्कामा आपूर्तिकर्ता कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिले १२ करोड ५५ लाख रुपैयाँको प्रस्ताव पेश गरेको थियो। ठेक्का प्रक्रिया अघि बढ्नुअघि नै गोप्य विवरण आपूर्तिकर्तालाई उपलब्ध गराइएको र सम्पूर्ण खरिद प्रक्रिया मिलेमतोमा भएको आयोगको दाबी थियो।

Classic Tech Desktop

यस्तै, उत्पादन कम्पनीबाट पठाइएको उपकरणको वास्तविक मूल्य करिब ६ करोड ८५ लाख रुपैयाँ मात्र भए पनि विभागले झण्डै १४ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेको दाबी अख्तियारले गरेको थियो।

तर विशेष अदालतले आरोपितमध्ये श्रवणकुमार थापा, सुरेन्द्रप्रसाद चौरासिया, आशिष चौहान, पद्या मिश्र र सञ्जयकुमार साह लाई भ्रष्टाचार कसुरमा दोषी ठहर गरेको छ।

अदालतले उनीहरूलाई जनही ५ लाख ४७ हजार ८ सय रुपैयाँ बिगो, २० हजार रुपैयाँ जरिवाना तथा ४ महिना कैद सजाय सुनाएको छ। यस्तै सप्लायर्स सुन्दर भुसाल लाई मतियारको रूपमा दोषी ठहर गर्दै ५ लाख ४७ हजार रुपैयाँ बिगो र २० हजार रुपैयाँ जरिवाना तोकेको छ।

विशेष अदालतको यो फैसलासँगै बहुचर्चित मेमोग्राफी मेसिन खरिद प्रकरणमा मुख्य आरोपितमध्ये अधिकांशले सफाइ पाएका छन् भने केही प्रतिवादी दोषी ठहर भएका छन्।

प्रतिकृया