अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह
प्रकाशित मिति
२०८३ असार २ गते, मंगलवार ०२:२०
२ असार २०८३ काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिका र इरानबीच भएको भनिएको शान्ति सम्झौताबाट उत्पन्न सकारात्मक अवसरलाई मुलुकको हितमा उपयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ। साथै, नेपालको संसदबाट पनि यस विषयमा स्पष्ट र सकारात्मक सन्देश प्रवाह हुनुपर्ने माग गरेको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका नेता प्रमेश हमाल ले अमेरिका र इरानबीचको द्वन्द्व अन्त्यतर्फको पहलले विश्व शान्तिका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले हालै इलेक्ट्रोनिक माध्यमबाट समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको जानकारी आएको उल्लेख गर्दै नेपालको संसदले पनि विश्वसामु सकारात्मक सन्देश दिनुपर्ने बताए।

हमालले विश्व शान्तिको पक्षमा आफ्नो पार्टी दृढ रहेको बताउँदै प्रस्तावित सम्झौताले दीर्घकालीन शान्तिको वातावरण निर्माण गर्न सक्ने धारणा राखे। उनले आगामी दिनमा विश्व बहुध्रुवीय शक्ति सन्तुलनतर्फ अग्रसर हुने दाबी गर्दै नेपालले आफ्नो राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र कूटनीतिक हितलाई ध्यानमा राखेर त्यस्ता अन्तर्राष्ट्रिय घटनाक्रमबाट प्राप्त अवसरको सदुपयोग गर्नुपर्ने बताए।

उनले बदलिँदो विश्व राजनीतिक परिवेशमा नेपालले सन्तुलित र राष्ट्रिय हितअनुकूल नीति अवलम्बन गर्न आवश्यक रहेको समेत उल्लेख गरे।




प्रतिकृया